Public Pana
चारजनाको हत्या अभियुक्त भण्डारी कारागार चलान

गत भदौ २९ गते राति काठमाडौँको तीनकुनेस्थित दिव्य सःमिलमा भएको चारजनाको बीभत्स हत्याका अभियुक्त सिन्धुपाल्चोक बाह्रबीसे नगरपालिका ९ का २३ वर्षीय सञ्जय भण्डारी कारागार चलान भएका छन् ।


आज शुक्रबार काठमाडौं जिल्ला अदालतले भण्डारीलाई पुर्पक्षका लाथि कारागार चलान गर्न आदेश दिएको हो ।


प्रहरीले अनुसन्धान प्रतिवेदन बुझाएपछि जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले जिल्ला अदालतमा हत्यामा संलग्न एकजनालाई प्रतिवादी बनाएर हिजो बिहीबार मुद्दा दायर गरेको थियो ।


काष्ठ उद्योगभित्र दोलखाको कालिञ्चोक गाउँपालिका ८ का कुमार भुजेल भन्ने पूर्णबहादुर भुजेल, उनका श्रीमती अम्बिका भुजेल र आमा शुभद्रा भुजेल, धनकुटा भीरगाउँ घर भई हाल मोरङको बेलबारी नगरपालिका २ बस्ने १९ वर्षीय नवीन राईको हत्या भएको थियो ।


उनीहरूको हत्या अभियोगमा भण्डारी पक्राउ परेका थिए। भण्डारीलाई घटनाको दुई दिनपछि भदौ ३१ गते काठमाडौँ प्रहरी परिसरले पक्राउ गरेको थियो ।


उनले बयानका क्रममा हत्या कसरी गरे भन्ने खुलाएका छन् । उनले नवीन राई भन्ने विशाल राईसँग आफ्नो रिसइबी रहेको र उनलाई धारिलो हतियार खुकुरी प्रहार गरी हत्या गरेको स्वीकार गरेका छन् ।


हत्या गर्ने क्रममा घटना बाहिर आउने भएकाले घटना देख्ने सोही स्थानमा रहेका भुजेल परिवारलाई पनि सिध्याएको बयान दिएका छन् ।
 

प्रकाशित मिति: शुक्रबार, असोज २६, २०८०  १६:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update