
दीपक रौनियार निर्देशित फिल्म ‘राजागञ्ज– द स्काइ इज माइन’ नर्वेमा ७६ लाख ५२ हजार रुपैयाँ (५७ हजार ६०० अमेरिकी डलर) फण्ड जितेको छ ।
यो फिल्मले नर्वेजियन फिल्म इन्स्टिच्युटको सोर्फोन्डबाट फण्ड जितेको हो ।
राजागञ्ज उक्त फण्ड जित्ने नौ फिल्ममध्ये एक हो । चर्चित अमेरिकी म्यागेजिन भेराइटीले यस बारेमा समाचार छापेको छ । फिल्मको छायांकन गत महिना नै सम्पन्न भइसकेको छ ।
यो फिल्ममा दयाहाङ राई, निकिता चण्डक, आशा मगराती, पशुपति राई, ऋचा शर्मा, विजय बराल, गौमाया गुरुङ, घनश्याम मिश्र, आरती मण्डल र पुष्प यादवले आदिको अभिनय रहेको छ ।
फिल्म निर्मातामा मगरातीसहित रामबाबु गुरुङ र एलन आर मिलिगन छन् । आदि फिल्म्स, बाँसुरी फिल्म्स र नर्वेको तनहाउज गेटको ब्यानरमा फिल्म बनेको हो ।
रौनियार निर्देशित पहिलो फिल्म ‘हाइवे’ बर्लिन तथा लोकार्नो सिनेमा फेस्टिवलमा रिलिज भएको थियो भने उनको दोश्रो निर्देशकीय फिल्म ‘ह्वाइट सन्’ ले भेनिस, पाम स्प्रिङ्स, फाइबर्ग र सिंगापुर फेस्टिभलमा अवार्ड जित्न सफल भएको थियो ।
रौनियार, डेभिड बार्कर र आशा मगरातीद्वारा संयूक्त लेखन रहेको ‘राजागञ्जः द स्काई इज माइन’ ले जातीय प्रथा र छालाको रङलाई लिएर हुने विभेदको कथा रहेको छ ।
फिल्मले फण्ड जितेपछि उत्साहित बनेका रामबाबु गुरुङले यो फिल्म ऐतिहासिक हुने प्रतिक्रिया दिएका छन् ।
‘दीपकसँग मेरो प्रारम्भिक दिनदेखि नै मित्रता छ । उनीसँग काम गर्न पाउँदा म निकै उत्साहित छु । यो फिल्म नेपाली फिल्म क्षेत्रको लागि एउटा ऐतिहासिक फिल्म हुनेछ र यसले बाँसुरी फिल्म्सको पोर्टफोलियो बढाउनेमा म खुसी छु’, उनले भने ।