Public Pana
कोशीमा मुख्यमन्त्रीको होडबाजी, नियुक्ती को हुने ? 

कोशी प्रदेश प्रमुख पर्शुराम खापुङले आज शुक्रबार मुख्यमन्त्री नियुक्त गर्दै छन् ।  तर उनी अन्योलमा छन्– कसलाई मुख्यमन्त्री बनाउने भनेर। किनकि उनको आह्वानअनुसार संविधानको धारा १६८ (५) अन्तर्गत मुख्यमन्त्रीमा दुई जनाले दाबी पेस गरेका छन् ।


प्रदेशसभा सदस्यद्वय इन्द्र आङ्बो (माओवादी केन्द्र) र केदार कार्की  (नेपाली कांग्रेस) ले मुख्यमन्त्री पदका लागि बिहीबारै प्रदेश प्रमुखसमक्ष दाबी पेस गरेका हुन्। मुख्यमन्त्रीमा दाबी पेसका लागि दिइएको समय सीमा आज साँझ ५ बजे सकिँदै छ । 


आङ्बो र कार्की दुवैले ४७-४७ जना सांसदको हस्ताक्षर प्रदेश प्रमुखलाई बुझाउँदै आफूलाई मुख्यमन्त्री बनाउनुपर्ने माग गरेका छन् ।


तर, प्रदेश प्रमुख खापुङले आज ५ बजेपछि मात्र निर्णय दिने उनका निजी सचिव नरेन्द्रकुमार श्रेष्ठले बताएका छन्। यसैले प्रदेश प्रमुख खापुङ यतिबेला दुईजनामध्ये कसलाई मुख्यमन्त्री बनाउनु कानुनसम्मत हुन्छ भन्ने विषयमा कानुनी परामर्शमा छन् । 
‘पहिला माननीय इन्द्र आङ्बोको दाबी पेस भएको छ। पछि फेरि कार्कीले सशरीर उपस्थित गराएका ८ जना माननीयसहित ४७ जनाको हस्ताक्षर बुझाउनुभयो’, श्रेष्ठले  भने, ‘प्रदेश प्रमुखज्यूले शुक्रबार छलफल गरेर निर्णय गर्छौँं भन्नुभएको छ ।’


संविधानको उपधारा ५ मा जोसुकै सांसदले पनि बहुमत सांसद पु¥याउन सके आफ्नो नेतृत्वमा सरकार गठन गर्नसक्ने व्यवस्था छ। तर, आङ्बो र कार्की दुवैले बराबर सांसदको हस्ताक्षर पेस गरेपछि प्रदेश प्रमुख अन्योलमा परेका हुन् ।

 
केही सांसदको दुवैतर्फ हस्ताक्षर भएको छ। यसका लागि उनले सबै सांसदलाई बोलाएर हस्ताक्षर सनाखत गराउन सक्नेछन् ।


त्यसो नभएर राजनीतिक तहमा छलफल गरेर पनि एउटा निचोडमा पुग्न सक्नेछन्। तर, कांग्रेसकै सांसद कार्कीले पार्टीभित्र विद्रोह गरेकाले पार्टी केन्द्रको निर्णय कुर्नुपर्ने कांग्रेसका प्रवक्ता मीनबहादुर विश्वकर्माले बताए ।


बिहीबार मात्र सत्तारुढ दलका शीर्ष नेताको बैठकले  कोशीको मुख्यमन्त्रीमा माओवादी केन्द्रका इन्द्र आङ्बोलाई अघि सार्ने निर्णय गरेको थियो ।


निर्णयलगत्तै आङ्बोलाई मुख्यमन्त्रीको दाबी पेस गर्न सत्तारुढ दलका नेताले तयारी बढाएका थिए। सोही कुरा थाहा पाएपछि एमालेले कांग्रेसको शेखर कोइराला पक्षलाई समर्थन गरेको हो ।


कोशी प्रदेशसभामा उपसभामुखसहित एमालेका ४० सांसद छन् ।


यसअघि दुईपटक मुख्यमन्त्री बने पनि एमालेका हिक्मत कार्कीले विश्वासको मत पाउन नसकेपछि सरकार ढलेको थियो ।
 

प्रकाशित मिति: शुक्रबार, असोज २६, २०८०  ०९:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update