Public Pana
एमसीसी प्रसारणलाइनका सबै ठेका रद्द, फेरी बोलपत्र हुने

अमेरिकी अनुदान रहेको कार्यक्रम एमसीसीअन्तर्गतका विद्युत प्रसारण लाइनसम्बन्धी तीनवटै प्याकेजका ठेक्का रद्द गरिएका छन् ।


यो परियोजना कार्यान्वयन गर्ने निकाय एमसीए नेपाललाई अमेरिकाको वासिङ्टनस्थित एमसीसी मुख्यालयले हालको ठेक्का रद्द गरेर नयाँ प्रक्रियामा जानुपर्ने राय दिएपछि यो निर्णय लिइएको एमसीसी नेपाल कार्यालयले जनाएको छ ।


ठेक्का प्रक्रिया रद्द भएको आधिकारिक जानकारी प्रतिस्पर्धामा सामेल भएका निर्माण कम्पनीहरूलाई दिइसकेकोले स्पेसिफिकेसन र स्कोप अफ वर्क पनि हेरफेर गरी बोलपत्रसम्बन्धी नयाँ सूचना चाँडै निकाल्ने एमसीसीको भनाई छ ।


एमसीए नेपालले इस्टिमेट गरेभन्दा ६७ प्रतिशतभन्दा बढीका बोलपत्र परेपछि ठेकेदार छनोटमा अन्योल भएको थियो । 
ठेकेदारहरूको मिलेमतो हुन सक्ने भन्दै सरकारी अधिकारीहरूले पुनः बोलपत्र प्रक्रियामा जानुपर्ने बताएका थिए । 


एमसीएले २२ करोड डलरमा ४०० केभी क्षमताको ३१५ किलोमिटर विद्युत प्रसारणलाइन बनाउन गत वर्षको मंसिर १२ गते बोलपत्र आह्वानसम्बन्धी पहिलो सूचना जारी गरेको थियो ।


५ वर्षभित्र सम्पन्न गरिसक्नुपर्ने परियोजनाको दिनगन्तीमा डेढ महिना बितिसकेको छ । जसले गर्दा समयको चुनौती अझ बढेको छ ।
 

प्रकाशित मिति: शुक्रबार, असोज २६, २०८०  ०६:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update