Public Pana
अन्य नेपालीलाई इजरायलबाट छिट्टै ल्याउने परराष्ट्रमन्त्री एनपीको दाबी

परराष्ट्रमन्त्री एनपी साउदले इजरायलबाट नेपाल फर्कन चाहना राखेका पाँच सय तीन जनामध्ये दुई सय ५४ जनालाई शुक्रबार नेपाल ल्याइएको जानकारी दिएका छन् । 


चार्टर विमानबाट नेपाली विद्यार्थीको उद्धारपछि आज शुक्रबार बिहान  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै परराष्ट्रमन्त्री साउदले अन्यलाई पनि छिट्टै नेपाल ल्याइने दाबी समेत गरेका छन् ।


‘इजरायलको तेल अभिवस्थित नेपाली राजदूतावासले सुरक्षित स्थानमा स्थानान्तरण हुन तथा नेपाल फर्कन चाहने नेपालीहरुलाई अनलाइनमार्फत आफ्नो विवरण प्रविष्ट गर्न अनुरोध गरे बमोजिम आजसम्म पाँच सय ५७ जनाले आफ्नो विवरण उपलब्ध गराउनुभएको छ ।  जसमध्ये पाँच सय तीन जनाले नेपाल फर्कन अनुरोध गर्नुभएकोमा दुई सय ५४ जना आज हामीसँगै स्वदेश फर्कनुभएको छ’, उनले भने । नेपाली विद्यार्थीलाई लिन मन्त्री साउद आफै नेपाल एयरलाइन्सको चार्टर विमानमा हिजा बिहीबार त्यसतर्फ प्रस्थान गरेका थिए । 


परराष्ट्रमन्त्री साउदले जोखिमपूर्ण स्थानबाट स्थानान्तरण गर्न आवेदन गरेका ५४ जनालाई सुरक्षित स्थानमा सारिएको पनि जानकारी दिए ।

यस घटनामा परी चार जना नेपाली नागरिक घाइते भएकोमा एक जना उपचारपछि आजै स्वदेश फर्किएको उनले जानकारी दिए । यस्तै  एक जना अस्पतालबाट उपचारपछि डिस्चार्ज भएको र बाँकी दुई जना स्थानीय अस्पतालमा उपचाररत रहेका मन्त्री साउदले जानकारी दिए । 


आक्रमणमा परी  सम्पर्कविहीन भएका विपिन जोशीको खोजी निरन्तर जारी रहेको उनले बताए । 


गत शनिबार इजरायलमाथि हमास समूहको आक्रमणमा परी सुदूरपश्चिम विश्वविद्यालयबाट इजरायल गएका १० जना नेपाली विद्यार्थीको निधन भएको थियो । उनीहरुको शव नेपाल ल्याउनका लागि इजरायल सरकारसँग समन्वय भइरहेको पनि उनले जानकारी दिए ।
 

प्रकाशित मिति: शुक्रबार, असोज २६, २०८०  ०६:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update