Public Pana

कोशी प्रदेशमा मुख्यमन्त्रीमा केदार कार्की र इन्द्र आङ्बोले दावी पेश गर्नुभएको छ । 


माओवादी केन्द्रलाई मुख्यमन्त्री दिने गठबन्धनले निर्णय गरे संगै कांग्रेसका ८ जना प्रदेश सांसदहरुले विद्रोह गरेर मुख्यमन्त्रीमा केदार कार्कीले दावी पेश गर्नुभएको हो ।

प्रदेश सांसद कार्कीको नेतृत्वमा मुख्यमन्त्रीको दाबा सहित ८ जना नेपाली कांग्रेस सांसदहरु र ३९ जना एमालेका प्रदेश सांसदहरु सहित ४७ जनाको हस्ताक्षर प्रदेश प्रमुख परशुराम खापुङलाई बुझाइएको छ ।

केदार कार्की सहित ८ जना प्रदेश सांसदहरुले हस्ताक्षर बुझाए संगै कोशी प्रदेश मात्र नभइ केन्द्रिय राजनीति समेत तरंगित भएको छ । प्रदेश प्रमुख समक्ष हस्ताक्षर बुझाउदै गर्दा नेपाली कांग्रेसका ८ जना प्रदेश सांसदहरु उपस्थित भएर अन्य प्रयोजनका लागि आफुहरुले गरेको हस्ताक्षर फिर्ता लिइदिन प्रदेश प्रमुखलाई आग्रह समेत गरेका छन् । 


यता केदार कार्की नेतृत्वमा दाबा पेश गर्नु अघि नेकपा माओवादी केन्द्रका इन्द्र आङ्बोलाई मुख्यमन्त्रीमा नियुक्तिका लागि दावी पेश गरिएको छ । इन्द्र आङ्बोलाई समर्थन गर्दै नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एस र जनता समाजवादी पार्टीका ४७ जना सांसदहरुले हस्ताक्षर गरेको पत्र बुझाइएको छ । 


 दुई वटा पक्षबाट ४७-४७ जनाको दाबा पेश भएपछि प्रदेश प्रमुख परशुराम खापुङले आवश्यक संवैधानिक र कानुनी व्यवस्था बारे सुझाव लिएर निर्णय गर्ने बताउनु भएको छ । प्रदेश प्रमुख परशुराम खापुङले असोज २० गते संविधानको धारा १६८ को उपधारा ५ अनुसार सरकार गठनका लागि दाबी पेश गर्न असोज २६ गते अपरान्ह ५ बजे सम्मको समय तोक्नु भएको थियो ।


 

प्रकाशित मिति: बिहीबार, असोज २५, २०८०  १९:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update