Public Pana

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीबार बिहान दार्चुलाको सीमावर्ती क्षेत्र गुन्जीमा गरेको भ्रमणका विषयमा नेपालको परराष्ट्र मन्त्रालयले ध्यानाकर्षण भएको जनाएको छ ।


परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले यस विषयमा जानकारी लिने क्रममा रहेको बताएकी हुन् ।


उनले एउटा देशको प्रधानमन्त्री अर्को देशमा जाँदा प्रोटोकल पूरा गर्नुपर्ने भन्दै त्यस विषयमा के भएको रहेछ भन्ने विषयमा बुझ्ने बताइन् ।


‘भारतीय प्रधानमन्त्रीको गुन्जी भ्रमणबारे हाम्रो ध्यानाकर्षण भएको छ । के हो भनेर हामी जानकारी लिने क्रममा छौँ । एउटा देशको प्रधानमन्त्री अर्को देशमा जाँदाको प्रोटोकल जे हो, त्यो पूरा गर्नुपर्छ । थप बुझ्दै छौँ’, उनले भनिन् ।
 

दार्चुलाको सीमावर्ती क्षेत्र गुन्जीमा मोदीले भ्रमण गरेको विषय सांसदहरूले संसदमा समेत उठाएका थिए ।


हेलिकोप्टरबाट आज बिहीबार कालापानी क्षेत्रमा आएका भारतीय प्रधानमन्त्री मोदीले आदिकैलाश र पार्वतीकुण्डको दर्शन गरेका थिए ।

साथै भारतको पिथौरागढ र गुन्जीका स्थानीय बासिन्दासँग अन्तरक्रिया समेत गरेका थिए ।
उनले भ्रमण गर्ने क्षेत्र नेपाल–भारत सिमानामा पर्दछन् ।

सरकारले २०७७ जेठमा सार्वजनिक गरेको नेपालको नयाँ नक्सामा लिम्पियाधुरा, कालापानी, लिपुलेक क्षेत्रका गुन्जी, नाबी, कुटी लगायतका भूभाग पनि समेटिएको छ ।
 

प्रकाशित मिति: बिहीबार, असोज २५, २०८०  १९:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update