Public Pana
पर्यटन प्रवर्द्धनका लागि कामनपा र हानबीच छलफल

पर्यटन प्रवर्द्धनमा सहकार्य गर्ने बारे काठमाडौँ महानगरपालिका (कामनपा)का मेयर बालेन साह र होटेल सङ्घ नेपाल (हान)का प्रतिनिधि टोली बीच आज बिहिबार छलफल भएको छ ।


होटेल सङ्घ नेपालका अध्यक्ष विनायक शाहको नेतृत्वमा गएको होटेल सङ्घ नेपालको प्रतिनिधि टोली र मेयर शाहबीच पर्यटन प्रवर्द्धन सम्बन्धी छलफल भएको हो ।


छलफलमा सङ्घका अध्यक्ष शाहले पर्यटन उद्योगमा गरिनुपर्ने दूरगामी महत्वका योजनाहरू प्रस्तुत गरेका थिए ।


छलफलमा मुलुकलाई पर्यटनमार्फत समृद्धि हासिल गर्न सकिने प्रमुख उद्योग पर्यटन रहेको हुँदा अन्तर्राष्ट्रिय अभ्यास र नेपालको पर्यटनको क्षमतालाई मध्यनजर गर्दै अन्तर्राष्ट्रिय पर्यटन बजारमा प्रचारमुखी कार्यक्रम तय गर्न आवश्यक रहेको अध्यक्ष शाहले बताए ।


भेटमा प्रचुर पर्यटकीय सम्भावना र क्षमता अभिवृद्धि गर्न साथै पर्यटनमार्फत राष्ट्रिय गरिमासमेत अन्तर्राष्ट्रिय जगतमा पुरायाउने लक्ष्य राखी नेपालमा अन्तर्राष्ट्रिय स्तरको कार्यक्रम गर्ने सम्बन्धमा पनि छलफल भएको छ ।


काठमाडौँ महानगरपालिका र होटेल संंघ नेपालको पर्यटन प्रवर्द्धनको संयुक्त बैठक बसी आवश्यक कार्ययोजना तय गरिने सम्बन्धमा मेयर साहले महानगरपालिका सकारात्मक रहेको भन्दै पर्यटन प्रवर्द्धनमा कामनपाले तयार पारेका विभिन्न कार्यक्रमहरू नदोहोरिने गरी कार्यान्वयन गर्ने पनि उल्लेख गरेका छन् ।
 

प्रकाशित मिति: बिहीबार, असोज २५, २०८०  १६:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update