Public Pana
एमाले सुदूरपश्चिम अध्यक्षमा अछामका कृष्णप्रसाद जैसी सर्वसम्मत 
कृष्णप्रसाद जैसीको फाइल तस्बिर

नेकपा एमालले सुदूरपश्चिमको पदाधिकारी सर्वसम्मत रूपमा चयन गरेको छ । 


प्रथम प्रदेश अधिवेशनमार्फत अछामका कृष्णप्रसाद जैसीको नेतृत्वमा पदाधिकारी निर्विरोध निर्वाचित भएका हुन् ।


नेतृत्व छान्न धनगढीमा ५ दिनसम्म चलेको अधिवेशनले पदाधिकारी अन्ततः निर्विरोध निर्वाचित गरेको हो । 


उपाध्यक्षमा कालीबहादुर शाही बुधबारै निर्विरोध निर्वाचित भएका थिए। सचिवमा रणबहादुर चन्द निर्वाचित भएका छन् । 
उपसचिवमा नरबहादुर विक र भागरथी विष्ट चयन भएका छन्। भीम रावल समूहको अडानले सुदूरपश्चिममा सर्वसम्मत नेतृत्व चयन हुन सकेको थिएन । 


सुदूरपश्चिम रावल समूहविरुद्ध दामोदर भण्डारी, कर्णबहादुर थापा र लेखराज भट्ट समूह मिलेका थिए । 


रावल समूह उपसचिव पाएपछि अध्यक्षबाट ब्याक भएको हो । रावलको समूहबाट अध्यक्षको उम्मेदवार बनेका भरत साउदले अध्यक्षमा जैसीलाई समर्थन गरेका हुन् ।


सचिव चयन भएका चन्द दामोदर भण्डारी समूहका हुन् । उपसचिव बनेका विक भीम रावल समूहका हुन् ।


अध्यक्ष बनेका जैसी एमाले स्थायी कमिटी सदस्य कर्णबहादुर थापा समूहले अघि सारेका उम्मेदवार हुन् ।
अध्यक्षमा उम्मेदवारी दिएका अछामका कमल तिमिल्सिना र कञ्चनपुरका वचनबहादुर सिंहले उम्मेदवारी फिर्ता लिएका थिए ।


तिमिल्सिनालाई भण्डारी समूहले अध्यक्षको उम्मेदवार खडा गरेको थियो भने लेखराज समूहले सिंहलाई अघि सारेको थियो ।


कूल १५९ सदस्यीय प्रदेश कमिटीमा सर्वसम्मत भएका सदस्यको विवरण तयारीको क्रममा रहेको निर्वाचन समितिले जनाएको छ ।
 

प्रकाशित मिति: बिहीबार, असोज २५, २०८०  १२:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update