Public Pana

राष्ट्रपति रामचन्द्र पौडेलले प्रविधिको क्षेत्रमा पर्याप्त लगानी गर्न नसकेका कारण नेपाल अपेक्षित गतिमा विकासको मार्गमा अघि बढ्न नसकेको बताउनुभएको छ । 


बुधबार काभ्रेपलाञ्चोकको धुलिखेलमा रहेको काठमाडौँ विश्वविद्यालयको नेपाल टेक्नोलोजी इनोभेसन सेन्टर भवनको उद्घाटन गर्दै राष्ट्रपति पौडेलले इतिहासका महत्वपूर्ण कालखण्डमा प्रविधिको क्षेत्रमा पर्याप्त लगानी गर्न, प्राविधिक, वैज्ञानिक एवं व्यवस्थापकीय जनशक्ति उत्पादन गर्न र युगसापेक्ष प्रविधिको विकास गर्न पछि परेको कारण नेपाल अपेक्षित गतिमा विकासको मार्गमा अघि बढ्न नसकेको बताउनुभएको हो ।

राष्ट्रपति पौडेलले भावी पुस्तालाई प्रविधियुक्त बनाउन र विश्व बजारमा प्रतिस्पर्धी तुल्याउन आवश्यक भएको बताउनुभयो ।

राष्ट्रपति पौडेलले काठमाडौँ विश्वविद्यालयअन्तर्गतको केन्द्रले राष्ट्रलाई आवश्यक पर्ने दक्ष प्राविधिक जनशक्ति उत्पादन गर्ने विश्वास व्यक्त गर्नुभयो ।

जलवायु परिवर्तन, भूमण्डलीकरण र आर्टिफिसियल इन्टेलिजेन्सले मानव सभ्यताका सामु खडा गरेका चुनौतीलाई पार लगाउँदै अगाडि बढ्न मानवमैत्री, दिगो र न्यायपूर्ण विकासका लागि खोज, अनुसन्धान आवश्यक भएको बताउनुभयो ।

उहाले विशिष्टीकृत एकाइहरूले प्राज्ञिक प्रकृतिका अनुसन्धान कृति प्रकाशन गर्नुका अतिरिक्त समाज र राष्ट्रलाई प्रत्यक्ष उपयोगी हुने सीप, ज्ञान र दक्षता विकासमा पनि  योगदान गर्न आह्वान गर्नुभयो ।

काठमाडौँ विश्वविद्यालयका उपकुलपति प्रा डा भोला थापाले नवनिर्मित भवन रु ४० करोडमा बनेको तथा  रु २२ करोडका उपकरण केन्द्रमा रहेका बताउनुभयो । 
 

प्रकाशित मिति: बुधबार, असोज २४, २०८०  १९:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update