Public Pana
जनकपुर विमानस्थलले सुरक्षा निकायलाई पत्र लेख्यो

जनकपुरधाम विमानस्थलका प्रमुख भीम दत्त पन्तले विमानस्थलको धावनमार्गमा अनधिकृत व्यक्तिहरु प्रवेश गरेको भन्दै सुरक्षा निकायलाई पत्र लेखेको बताएका छन् ।


नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको स्वागतमा एमाले कार्यकर्ताहरु धावनमार्गमै पुगेका थिए । यति एयर चढेर जनकपुरधाम पुगेका ओलीलाई स्वागत गर्न उनीहरु विमानको ढोकासम्मै पुगेका थिए ।


अतिथिलाई स्वागत गर्न भीआईपी कक्ष र धावन मार्ग बाहिरै पाँचजना मात्र जान पाउने नियम भए पनि नेता कार्यकर्ताले नियम मिच्ने गरेको उनले गुनासो गरे ।


यो घटनाले हवाई सुरक्षाको उल्लंघन भएको भन्दै सुरक्षा निकाय, सुरक्षा गार्डलाई पत्र लेखेको विमानस्थल प्रमुख पन्तले बताए ।


‘धावन मार्गमै पुगेर राजनीतिक दलका नेता कार्यकर्ताले स्वागत गर्ने प्रवृति छ । आज प्रहरी र कर्मचारीले रोक्दा रोक्दै धावनमार्गमा कार्यकर्ता पुगे । हवाई सुरक्षा उल्लंघन गरेकाले सुरक्षा निकाय, सुरक्षा गार्डलाई पत्र लेखेका छौं,’ उनले भने । 
यस विषयमा धनुषाका प्रमुख जिल्ला अधिकारी चक्रपाणि पाण्डेसित कुरा गरेको प्रमुख पन्तको भनाइ छ ।
 

प्रकाशित मिति: बुधबार, असोज २४, २०८०  १५:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update