Public Pana

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले इजरायलमा नेपाली नागरिकको उद्दारमा नेपाल एयरलाइन्सको जहाज पठाउन आज कुनै हालतमा पनि जहाज पठाउन निर्देशन दिएका छन् ।

भएको ढिलाइबारे सम्बन्धित अधिकारीहरुलाई बोलाई जानकारी दिएका हुन् ।

आजै बेलुकी नेपाल एयरलाइन्सको जहाज पठाउने निर्णय भएको छ । 


सरकारले इजरायलमा रहेका नेपालीहरूलाई स्वदेश फिर्ता ल्याउनका लागि जहाज पठाउने गत सोमबार निर्णय भएपनि अहिले सम्म कुनै चाजोबाजो नभएको भन्दै प्रधानमन्त्री रुष्ठ भएका थिए ।


अध्ययनलगायत अन्य प्रयोजनका लागि इजरायलमा रहेका नेपालीहरू नेपाल आउन चाहेमा सरकारले नेपाल एअरलाइन्स र हिमालय एअरलाइन्सको विमान चार्टर गरी यथाशीघ्र ल्याउन प्रबन्ध गर्ने सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।


उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठका अनुसार इजरायलबाट नेपाल फर्कन चाहने सबैलाई सरकारले खर्च बेहोर्ने छ ।


इजरायलस्थित नेपाली दूतावासले स्वदेश फर्कन चाहने नेपालीहरुको विवरण अनलाइन प्रणालीमार्फत संकलन गरी तत्काल परराष्ट्र मन्त्तालयमा पठाउने छ । अनलाइन फारम भरेका आधारमा संख्या पुगेपछि उनीहरूलाई लिन जहाज पठाइने मन्त्रिपरिषद्को निर्णयमा छ ।


इजरायलमा रहेका नेपालीहरूको उद्धार तथा स्वदेश फिर्तीमा सहयोग गर्न हिब्रु भाषा जान्ने स्थानीय व्यक्तिलाई बढीमा ३ महिनाका लागि काममा लगाउन इजरायलस्थित नेपाली दूतावासलाई स्वीकृति दिनेसमेत मन्त्रिपरिषद्ले निर्णय गरेको छ । इजरायलस्थित नेपाली दूतावासले जोखिमयुक्त क्षेत्रबाट नेपालीहरूको सुरक्षित उद्धार गर्न समन्वय र सहजीकरण गर्ने छ ।


नेपाल फर्कन चाहने नेपालीहरूलाई नेपाल फर्काउने अवधिसम्म अस्थायी ट्राञ्जिट होम स्थापना गरी व्यवस्थापन गर्न इजरायलस्थित नेपाली दूतावासलाई स्वीकृति दिने पनि मन्त्रिपरिषद्को विशेष बैठकले निर्णय गरेको छ ।

सरकारले इजरायलमा रहेका नेपालीहरूको उद्धारका लागि आवश्यकताअनुसार इजरायल सरकार एवं छिमेकीलगायत अन्य मित्र राष्ट्रहरुसमेतको सहयोग लिने पनि सोमबारको बैठकको निर्णय छ ।

इजरायलमा करिब ४ हजार ५ सय नेपाली रहेका छन् ।
 

प्रकाशित मिति: बुधबार, असोज २४, २०८०  १४:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update