Public Pana

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले इजरायलमा भएको अकल्पनीय घटनामा सिंगो देश एक ठाउँमा उभिएको अनुभूति गरेको बताउनुभएको छ । 


विश्व मानसिक स्वास्थ्य दिवसका अवसरमा स्वास्थ्य मन्त्रालयले मंगलबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले इजरायलमा भएको अकल्पनीय घटनामा संगो देश एक ठाउँमा उभिएको अनुभूति गरेको भन्दै सरकारको तर्फबाट सम्पूर्ण राजनीतिक दल, नागरिक समाज र आम जनसमुदायमा धन्यवाद व्यक्त गर्नुभयो ।


त्यसैले इजरायलमा भएको घटनामा सरकार सहित सबै दल र नागरिक एकै स्थानमा भएका तत्काल समस्या समाधान हुनेमा आफू विश्वत रहेको उल्लेख गर्नुभयो । कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले स्वस्थ नागरिक देशको सर्वाङ्गीण विकासको आधार भएकाले गुणस्तरीय र सर्वसुलभ मानसिक स्वास्थ्य सेवामा सबै नागरिकका समान पहुँच पु¥याउने कार्यलाई सरकारले प्राथमिकतामा राखेको बताउनुभयो ।


सबै नागरिकको मानसिक सु–स्वास्थ्यका लागि मानसिक स्वास्थ्यको सेवालाई विस्तार गर्न प्राथमिक स्वास्थ्य सेवासँगै एकीकृत गर्दै लैजान पहलकदमी अगाडि बढाइएको उहाले जानकारी दिनुभयो ।

उहाले परिवार, समुदाय, विद्यालय तथा कार्यस्थलहरूमा मानसिक स्वास्थ्य प्रवर्धन गर्ने वातावरण सिर्जना गर्नु आवश्यक रहेको बताउनुभयो । त्यस्तै वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुलाई उनीहरूको कार्यस्थलमा आधारभूत अधिकार सुनिश्चित गरी सुस्वास्थ्य कायम गर्न अन्य देशहरूसँग समन्वय गर्न आवश्यक रहेको जिकिर गर्नुभयो । 


त्यस्तै स्वास्थ्यमन्त्री मोहन बहादुर बस्नेतले स्वास्थ्य क्षेत्रमा देखिएका समस्याहरुलाई समाधान गर्दै अघि बढ्ने बताउनुभयो । उहाले ५४ सालदेखि रोकिएको स्वास्थ्य क्षेत्रको दरवन्दी बढाउने काम छिटै सुरु गर्ने जानकारी दिनुभयो ।

मन्त्री बस्नेतले अहिले ठूला ठूला उपकरण खरिद नगर्ने र भएका उपकरणहरुकै उचित प्रयोगमा लागेको बताउनुभयो । 
त्यस्तै उहाले मानसिक स्वास्थ्य समस्या भएकै कारण अब कुनै पनि व्यक्ति मानव अधिकारबाट वञ्चित  नहुने धारणा राख्नुभयो । मानसिक स्वास्थ्यः सवैको अधिकार भन्ने नाराका साथ मंगलबार विश्व मानसिक स्वास्थ्य दिवस मनाइएको हो ।

नेपालमा १८ वर्षमाथिका व्यक्तिहरुमध्ये दस प्रतिशतलाई मानसिक स्वास्थ्य समस्या देखिएको पछिल्लो अध्ययनले देखाएको छ । 
 

प्रकाशित मिति: मंगलबार, असोज २३, २०८०  १६:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update