Public Pana
हङकङलाई हराउँदै भारत एसिया कपको सुपर फोरमा

भारतले यूएईमा जारी एसिया कप टी–२० क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित निकालेको छ । उसले गएराति हङकङलाई ४० रनले हराउँदै लगातार दोस्रो जित निकालेको हो ।

यो जितसँगै भारतले समूह ‘ए’ को विजेता बन्दै सुपर फोरमा स्थान सुरक्षित गरेको छ । उसले पहिलो खेलमा पाकिस्तानलाई ५ विकेटले हराएको थियो ।

१९३ रनको लक्ष्य पछ्याएको हङकङले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १५२ बनायो । उसका लागि बाबर हयातले सर्वाधिक ४१ रनको योगदान दिए ।

किन्चित शाहले ३०, अविजित रहेका जीशन अलीले २६ र स्कट म्याकेच्नीले १६ बनाउँदा अजाज खानले १४ र कप्तान निजाकत खानले १० रन जोडे ।

भारतका लागि भुवनेश्वर कुमार, आवेश खान, रवीन्द्र जडेजा र अर्शदीप सिंहले एक/एक विकेट लिए । त्यसअघि दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको भारतले २० ओभरमा २ विकेट १९२ रन बनायो । 

उसका लागि सूर्यकुमार यादव र विराट कोहलीले अविजित रहँदै अर्धशतकीय पारी खेले । यादवले २६ बलमा समान ६ चौका र छक्कासहित ६८ तथा कोहलीले ४४ बलमा तीन छक्का र एक चौकासहित ५९ रन बनाए ।

केएल राहुलले ३६ तथा रोहित शर्माले २१ रन जोडे । हङकङका लागि आयुष शुक्ला र मोहम्मद घजान्फरले समान एक/एक विकेट लिए । यो जितसँगै भारतले दुई खेलबाट ४ अंक जोड्दा हङकङले हारबाट प्रतियोगिताको सुरुवात गरेको छ। 

प्रकाशित मिति: बिहीबार, भदौ १६, २०७९  ०६:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update