Public Pana
पत्रकार एंव महिला अधिकारकर्मी नरगिस मोहम्मदीलाई जेलमै हुँदा नोबेल शान्ति पुरस्कार 

यस वर्षको नोबेल शान्ति पुरस्कार इरानी मानवअधिकारकर्मी नरगिस मोहम्मदीलाई दिइने भएको छ । इरानमा महिलामाथि हुने गरेको शोषणविरुद्ध लडेको र मानवअधिकार प्रवर्द्धनमा लागेको भन्दै रोयल स्विडिस एकेडेमीले शुक्रबार सन् २०२३ को विजेता घोषणा गरेको हो ।


नरगिसलाई इरान सरकारले तेहरानस्थित कुख्यात इभिन कारागारमा राखेको छ । पत्रकारितामार्फत महिलामाथि भएका थिचोमिचोविरुद्ध आवाज उठाउँदै आएकी उनलाई यसै वर्ष संयुक्त राष्ट्रसंघले प्रेस स्वतन्त्रता पुरस्कार दिएको थियो । नरगिससहित इरानी पत्रकार निलोफर हमिदी र एलाहेह मोहम्मदीलाई गत मेमा प्रेस स्वतन्त्र पुरस्कार प्रदान गरिएको थियो ।


५१ वर्षीया नरगिसले जेलबाटै महिलाविरुद्ध हुने यौन हिंसाका बारेमा आवाज उठाउँदै आएकी छन् । इरानमा मानवअधिकारविरुद्धको लडाइँमा नरगिस पर्यायवाची शब्द बनेको पुरस्कार घोषणाअघि नै सीएनएनले प्रकाशित गरेको रिपोर्टमा उल्लेख गरेको छ ।


विभिन्न मुद्दामा पटक–पटक जेल परेकी नरगिस पछिल्लो पटक भने राष्ट्रिय सुरक्षामाथि आँच आउने र राज्यविरुद्ध दुष्प्रचार गरेको आरोपमा जेल परेकी हुन् । उनी सन् २०२१ नोभेम्बर १६ मा इब्राहिम केताबदरको स्मृति समारोहमा सहभागी भएका बेला पक्राउ परेकी हुन् । इब्राहिम २०१९ को नोभेम्बरमा राष्ट्रव्यापी प्रदर्शनका क्रममा इरानी सुरक्षा फौजबाट मारिएका थिए ।


उनलाई १३ पटक पक्राउ गरिएको छ भने जम्मा ३१ वर्ष जेल सजाय सुनाइएको छ । पछिल्लो पटक नरगिसलाई १० वर्ष ९ महिना जेल सजाय सुनाइएको छ ।

थप १५४ कोर्रा सजाय सुनाइए पनि उक्त सजाय अहिलेसम्म दिइएको छैन । उनीमाथि यात्रा र अन्य प्रतिबन्ध पनि लगाइएको छ । 


पहिलो पटक नोबेल शान्ति पुरस्कार सन् १९०१ मा रेडक्रसका संस्थापक ज्याँ हेनरी ड्युना र फ्रेन्च पिस सोसाइटीका संस्थापक अध्यक्ष फ्रेडरिक प्यासीलाई संयुक्त रूपमा प्रदान गरिएको थियो । 


यस वर्षको चिकित्साशास्त्र, भौतिकशास्त्र, रसायनशास्त्र र साहित्यतर्फको नोबेल पुरस्कार विजेता घोषणा भइसकेको छ । 
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार भने अक्टोबर ९ मा घोषणा हुनेछ ।

 

प्रकाशित मिति: शनिबार, असोज २०, २०८०  ०७:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update