Public Pana
जितिया पर्वको मुख्य दिन आज -राष्ट्रपति  पौडेलले  शुभकामना

हिन्दू विवाहित नारीहरूले पति तथा सन्तानको सुख, शान्ति र लामो आयुको कामना गर्दै मनाउने जितिया पर्वको मुख्य दिन आज हो ।


गत बिहीबारबाट सुरु भई आज मुख्य दिन रहेको यो पर्व खासगरी मिथिलाञ्चल क्षेत्रमा लोकप्रिय रहेको जितिया पर्व प्रत्येक वर्ष असोज कृष्णपक्ष सप्तमीदेखि नवमीसम्म मनाइन्छ ।


पर्वको पहिलो दिन सप्तमी तिथिमा ‘नहा, खा’ (नुहाएर खानु) विधिबाट पर्व सुरु भएको हो । व्रतालु नारीहरूले नदी, पोखरी तथा जलाशयमा स्नान गरी घिरौँलाको पातमा पिना, तेल र सिन्दुर भगवान् जितमाहनको पूजा गरेका छन् ।


पूजापछि कोदोको रोटी, नुनीको साग र माछा खाने चलन छ । जसलाई स्थानीय भाषामा ‘माछ मरुवा’ पनि भन्ने गरिन्छ । जितियाको दोस्रो दिन अष्ठमीमा २४ घन्टा लामो निराहार उपवास बसेर भगवान् जितमाहनको कथा सुन्ने गरिन्छ ।


अन्तिम दिन आज पुनः नदी, पोखरी तथा जलाशयमा स्नान गरी घरमा आएर चौका लगाई चिउरा, दही तथा सखरको प्रसाद अर्घ्य दिएर व्रत समाप्त गरिन्छ । सन्तानको दीर्घजीवन, पुत्र प्राप्ति तथा पारिवारिक सुख शान्तिका लागि मनाइने जितिया पर्वको धार्मिक, सांस्कृतिक तथा तान्त्रिक महत्ववसमेत रहेको जानकारहरूको भनाइ छ ।

संस्कृतमा ‘जीवित पुत्रीका’, हिन्दीमा जियतिया र नेपालमा तराईबासी मधेशी महिलाहरू ‘जितिया’लाई आफ्नो सन्तानको सुख, आनन्द र प्रगतिका निमित्त मनाइने एउटा उत्साहजनक चाडका रूपमा लिन्छन् ।

यसलाई जीवित पुत्र पर्वको रूपमा मनाइन्छ । यो पर्व अश्विनको अष्टमी तिथिको कृष्ण पक्षको दिन मनाइन्छ । यो पर्व खासगरी आमाहरूले आफ्नो जीवित पुत्रहरूका लागि व्रत बस्ने गर्छन् ।

महिलाहरू ‘निर्जला’ अर्थात् पानी समेत सेवन नगरीकन २४ घण्टासम्म भगवान ‘जीतमहान गोँसाई’को पूजाआजा गरी कठोर व्रत बस्ने परम्परा रहिआएको छ ।


सबै आमाका छोराछोरीको रक्षा होस् । सबै छोराछोरीले आमालाई माया गरुन् ।

जितियाको प्रसाद अनि आशिषले सम्पूर्ण नेपाली समाजलाई बलियो र एक–आपसी सहकार्यमा मजबूत बनाउन सहयोग गरोस् ।

राष्ट्रपति रामचन्द्र पौडेलले जितिया पर्वका अवसरमा सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिका शुभकामना व्यक्त गरेका छन् । 

जितियाको अपार शुभकामना !
 

प्रकाशित मिति: शनिबार, असोज २०, २०८०  ०५:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update