Public Pana
स्वास्थ्यकर्मीमाथिको आक्रमणलाई नियन्त्रण गर्न सरकार तयार रहेको प्रधानमन्त्री प्रचण्डको दाबी

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्वास्थ्य क्षेत्रमा हुने कुनैपनि प्रकारका अवाञ्छित गतिविधि नियन्त्रण गर्न सरकार दृढ रहेको बताएका छन् ।


आज बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन्। उनले स्वास्थ्यकर्मीहरूलाई पूर्ण भरोसा र आत्मविश्वासका साथ बिरामीको उपचारमा सक्रिय रहन आग्रह समेत गरे । 


‘संविधानमा व्यवस्था भए बमोजिम मौलिक हकहरूको कार्यान्वयनका निम्ति आवश्यक पर्ने कानून निर्माण, संरचनाको विकास र सेवा प्रवाहका क्षेत्रमा अझै थुप्रै काम गर्न बाँकी छन् । 


संविधानप्रदत्त स्वास्थ्य सम्बन्धी हकको कार्यान्वयनका लागि चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान जस्ता सरकारी संरचनाहरुको भुमिका सबैभन्दा महत्वपूर्ण हुन्छ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘यसतर्फ आगामी दिनमा सिंगो प्रतिष्ठान परिवारले गम्भीरतापूर्वक काम गर्नेछ । दक्ष र प्राविधिक जनशक्तिबाट देशको दूर दराजका जनताले सहज र स्तरीय स्वास्थ्य सेवा प्राप्त गर्नेछन्। हरेक लोकतान्त्रिक देश र प्रणालीमा राज्य नागरिकको वास्तविक अभिभावक र संरक्षक हो ।’


वीर अस्पताललाई अझै बिस्तार र सुविधा सम्पन्न बनाउन नेपाल सरकार थप लगानी प्रतिवद्धता जनाउँदै उनले नर्सिङ सेवासँग सम्बन्धित देखापरेका जटिलतालाई समाधान गर्नेतिर सरकारले दृढतापूर्वक अघि बढेको बताए ।
 

प्रकाशित मिति: बिहीबार, असोज १८, २०८०  १६:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update