Public Pana
आफूलाई हराउन कोशी प्रदेशको प्रयोग गरेको एमाले नेता ढकालको आरोप

नेकपा एमालेका नेता विनोद ढकालले आफूलाई हराउन कोशी प्रदेशको सत्ता प्रयोग गरिएको आरोप लगाएका छन् । 


अस्ति मंगलबार सम्पन्न एमाले कोशी प्रदेशको पहिलो अधिवेशनमा अर्का नेता घनश्याम खतिवडासँग पराजित भएका अध्यक्षका प्रत्यासी ढकालले हिक्मत कार्की नेतृत्वको सरकारमाथि गम्भीर आरोप लगाएका हुन् । 


विराटनगरमा बिहीबार पत्रकार सम्मेलन गर्दै ढकालले सरकार विश्वासको मत लिनै नपाई प्रदेश सरकार विस्तार गरेर आफूलाई हराउने काम भएको बताए । 


‘मलाई कस–कसले हराउन के के गरे सबै तपाईंहरुलाई थाहा छ’, उनले अगाडि भने, ‘यहाँको प्रदेश सरका पनि मलाई हराउन प्रयोग भयो। विश्वासको मत लिनुअघि नै मन्त्री पनि मलाई हराउने योजनासहित बनाइएको हो ।’


तर ढकालले निर्वाचनको नतिजा स्वीकार्ने बताए। अहिले पनि एमालेको मूल नेतृत्वकै बाटोमा रहेको उनले बताए । 


ढकालले खतिवडा नेतृत्वको कोशी प्रदेश कमिटीलाई बधाई पनि दिएका छन्। उनले खतिवडा कार्यसमितिलाई सहयोग हुने पनि प्रतिबद्धता जनाए ।
 

प्रकाशित मिति: बिहीबार, असोज १८, २०८०  १६:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update