Public Pana
माओवादी केन्द्रसँग एकता नगर्ने बाबुरामको दाबी

नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले तत्कालका लागि माओवादी केन्द्रसँग वार्ताको औचित्य नरहेको बताएका छन् ।

हिजो बुधबार सकिएको पार्टीको कार्यकारिणी समितिको निर्णय सार्वजनिक गर्न आज बिहीबार एक विज्ञप्ति जारी गर्दै भट्टराईले माओवादी केन्द्र संसदीय अंकगणित मिलाएर सत्तामा टाँसिइरहने प्रवृत्ति देखाइरहेको आरोप लगाएका छन् ।
‘माओवादी केन्द्रको नेतृत्वले त्यो महत्वपूर्ण नौ–बुँदे प्रस्तावमाथि छलफल नै गर्न नचाहेको र सिद्धान्तनिष्ठ नयाँ समाजवादी केन्द्रको निर्माणमा भन्दा तत्काल संसदीय अंक गणित मिलाएर सत्तामा टाँसिरहने प्रवृति देखाइरहेको छ,’ विज्ञप्तिमा उल्लेख छ ।


माओवादी केन्द्र दाउपेचको राजनीति गरिरहेको डा. भट्टराईको आरोप छ । माओवादी केन्द्रसँग नयाँ आधारमा नयाँ समाजवादी केन्द्र निर्माणका निम्ति वार्ता प्रक्रिया सुरु गर्दै समाजवादी पार्टीले नयाँ युगको नयाँ सम्मुनत समाजवादी पार्टीको विचार, नीति, कार्यक्रम, संगठनात्मक सिद्धान्त, कार्यशैलीसहितको नौ–बुँदे पार्टी एकताको आधार प्रस्तुत गरेको डा. भट्टराईले स्मरण गरेका छन् ।


‘हालै माओवादी केन्द्रको नेतृत्वले हाम्रो पार्टीका एक अध्यक्षलाई पठाएको पत्रले पनि रुपान्तरणसहितको समाजवादी ध्रुवीकरण भन्दा दाउपेचको राजनीति मात्रै गर्न खोजिरहेको झल्को दिन्छ’ विज्ञप्तिमा भनिएको छ, ‘यो स्थितिमा हामीले प्रस्तुत गरेको ९– बुँदे समष्टीगत प्रस्ताव बारे माओवादीकोे औपचारिक धारणा नआएसम्म माओवादी केन्द्रसँग वार्ताको औचित्य नरहेको हाम्रो पार्टी प्रष्ट पार्न चाहन्छ ।’


विज्ञप्तिमा समाजवादी केन्द्रको असोज १५ देखि १७ सम्म बसेको कार्यकारिणी समितिको बैठकले वैशाखमा महाधिवेशन गर्ने र त्यसको तयारीका लागि मंसिर ६ र ७ गते केन्द्रीय समितिको बैठक बोलाइएको उल्लेख गरिएको छ ।

 


 

प्रकाशित मिति: बिहीबार, असोज १८, २०८०  १५:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update