Public Pana
हेलिकप्टर चढेर नेता पुगेपनि राहत नपुग्ने भूकम्प क्षेत्र बझाङका नेताको गुनासो

एकीकृत समाजवादीका नेता भानुभक्त जोशीले बझाङ र वरपरका जिल्लाका भूकम्प पीडितका लागि तत्काल राहतको व्यवस्था गर्नुपर्ने बताएका छन् ।

आज बिहीबार संसद बैठकको विशेष समयमा बोल्दै बझाङबाट निर्वाचित प्रतिनिधिसभा सदस्य जोशीले १६ असोजमा गएको भूकम्पले जिल्लाका सबै पालिकामा क्षति पुगेको भन्दै पीडितलाई तत्काल राहत र घाइतेलाई उपचारको व्यवस्था गर्न माग गरे ।

प्रधानमन्त्री, उपप्रधानमन्त्री र मन्त्रीहरू त्यसतर्फ जान लागेकामा धन्यवाद दिँदै जोशीले भ्रमण गर्ने भन्दा विशेष कार्यक्रमको घोषणा गर्नुपर्ने माग गरे ।

‘यसअघि ०७८ सालमा गएको बेमौसमी वर्षाका कारण ठूलो क्षति भएको थियो । एकै घरका ७ जनाले ज्यान गुमाए भने धनजनको क्षति भयो । त्यतिबेलाका प्रधानमन्त्री, गृहमन्त्री र मुख्यमन्त्रीले भ्रमण गरेर आश्वासन दिए पनि तीन वर्षसम्म पीडित राहत पाउन सकेका छैनन् ।’

सांसद जोशीले भने, ‘नेताहरू आउँछन्, हेलिकप्टरमा घुम्छन् र आश्वासनका ठूला भारी बोकाउँछन् । तर जनताले केही पाउँदैनन् । यस्तो पीडाको अवस्थामा म सरकारलाई कमसेकम त्यो जिल्लाको समग्र अवस्था हेरेर अहिले विशेष कार्यक्रम घोषणा गर्न माग गर्दछु ।

’ उनले अहिले बझाङलगायत आसपासका जिल्लामा दर्दनाक अवस्था रहेको भन्दै के कसरी हुन्छ सरकारलाई राहत र उद्दारका लागि अनुरोध गरे । ‘सरकारी कार्यालय, स्वास्थ्य चौकी र विद्यालय भवनसँग निजी घर बस्न लायक छैनन्’, उनले भने, ‘सामान्य राहतले मात्रै नपुग्ने हुँदा विशेष पूनर्निमाणको योजना लिएर बझाङ र त्यस वरपरका जिल्लालाई भूकम्प प्रभावित वा संकटग्रस्त जिल्लाका रूपमा घोषणा गरेर सरकारले विशेष कार्यक्रम ल्याउन अनुरोध गर्न चाहन्छु ।’

जोशीका अनुसार १६ भदौको भूकम्पका कारण बझाङसँगै बाजुरा, अछाम, डोटी र बैतडीमा पनि क्षति भएको छ । बझाङमा सुख्खा पहिरोमा परी गुनदेवी जोशीको ज्यान गएको र दुई जना घाइतेको काठमाडौँमा उपचार भइरहेको पनि सांसद जोशीले बताए ।

भूकम्पले विद्यालय भवन चर्किएका कारण पठनपाठन बन्द भएको र २१ वटा सरकारी कार्यालय बन्द रहेको तथा व्यक्तिका निजी घरमा पनि बस्न मिल्ने अवस्था नरहेको जोशीले संसदलाई जानकारी गराए ।

प्रकाशित मिति: बिहीबार, असोज १८, २०८०  १५:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update