Public Pana
चीनले नयाँ नक्सालाई मान्यता र भारतले कालापानी र लिम्पियाधुरा फिर्ता गर्नुपर्छ : माधव नेपाल

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले भारतले मिचेको भूमि फिर्ता गर्नपर्ने र चीनले चुच्चे नक्सालाई मान्यता दिनुपर्ने बताएका छन् । 


पार्टीको समाजवादी जागरण अभियानअन्तर्गत रौतहटको चन्द्रपुरमा आज बिहिबार आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले विदेशीको हस्तक्षेप बढेको भन्दै सहिरहन नहुने बताएका हुन् ।

‘देशमा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा  वैदेशिक हस्तक्षेप बढ्न लागेकोमा हामी गम्भीर छौं । भारतले  सीमा मिचेको छ। वार्ताबाट समाधान  निकाल्नुपर्छ,’ उनले भने, ’लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नेपालको नक्सालाई भारतले मान्नु पर्दछ र हाम्रो भूमि फिर्ता गर्नु पर्दछ । चीनले पनि हाम्रो नयाँ नक्सालाई मान्यता दिनु पर्दछ ।’


नेता नेपालले रिगल भनिने योग ढकाललाई आममाफीप्रति आफू सहमत नभएको बताए । अपराधीलाई आममाफी दिने कुरामा हामी सहमत छैनौं,’ नेपालले भने, ‘हामीसँग सरकारले कुरा गरेर र जानकारी पनि गराएको छैन ।’ 


संविधान दिवसको अवसरमा सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले रिगललाई आममाफी दिएका थिए । जसको अहिले व्यापक आलोचना भइरहेको छ । 


 

प्रकाशित मिति: बिहीबार, असोज १८, २०८०  १३:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update