Public Pana

संसदीय समितिले चाडपर्वका बेला सवारीसाधान तथा यातायातको अभाव हुन नदिने व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ । 


सिंहदरबारमा आज बुधबार बसेको प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समिति बैठकले वैकल्पिक व्यवस्थापन गरेर भएपनि चाडपर्वका बेला सवारीसाधान तथा यातायातको अभाव हुन नदिने व्यवस्था गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएको हो ।


बैठकले सवारी साधनको अवस्थाको परिक्षण गर्न, क्षमताभन्दा बढी यात्रु नराख्ने व्यवस्था गर्न र बिभिन्न स्थानमा नागरिक सहायक कक्षको व्यवस्था गर्न पनि निर्देशन दिएको छ भने निजी क्षेत्रको शैक्षिक संस्थाको सवारीसाधानको प्रयोग गरेर भए पनि दसैँमा विद्यार्थीहरूलाई घर लैजाने व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ ।


बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले चाडपर्वका बेला सडक अवरुद्ध हुने गरि निर्माण कार्य नगर्न, सडकको अवस्था सुधार गर्न निर्देशन दिइसकेको जानकारी दिनुभयो । उहाले सवारीसाधान तथा यातायातको अभाव हुन नदिने गरि यातायात व्यवसायीहरुसंग छलफल गरेको बताउनुभयो ।

अग्रिम टिकट खुलाउने बारे यातायात व्यवसायीहरुको केहि माग रहेकाले त्यसका बारेमा आवश्यक परामर्श भइरहेको उहाको भनाइ छ ।

 
 बैठकमा समिति सदस्यहरुले चाडपर्व नजिकिदै जाँदा पनि मुलुकको बिभिन्न सडकखण्डहरु सहज हुन नसकेको भन्दै सरकारका ध्यानाकर्षण गराएका थिए ।


समिति सदस्य ठाकुर गैरेले सदरमुकामबाट गाँउगाँउसम्म पुग्ने सडकहरुको अवस्था राम्रो नभएको भन्दै स्थानीय तहलाई आवश्यक बजेट छुट्टाएर सडक निर्माण गर्ने अवस्था सिर्जना गर्नुपर्ने सुझाव दिनुभयो ।

त्यस्तै समिति सदस्य माधव सापकोटाले जनताले सास्ती भोग्दा समेत समयमा सडक निर्माण नगर्ने ठेकेदारलाई संरक्षण गर्दा निर्माण समयमा सम्पन्न हुन नसकेको बताउनुभयो ।


त्यस्तै समिति सदस्य विना लामाले ग्रामिण सडकहरुको अवस्था अहिले पनि जिर्ण भएका कारण सर्वसाधारणहरुले सास्ती भोग्नुपरेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो ।


त्यस्तै अन्य समिति सदस्यहरुले चाडपर्वका बेला सवारीसाधान तथा यातायातका साथ सडकहरुको निरन्तर अनुगमन गरेर सर्वसाधारणलाई सहज रुपम आवतजावतको व्यवस्था गर्न माग गरेका थिए । 
 

प्रकाशित मिति: बुधबार, असोज १७, २०८०  १९:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update