Public Pana

सभामुख देवराज घिमिरेसँग अष्ट्रेलियाका सभामुख मिल्टन डिकले बुधबार शिष्टाचार भेटवार्ता गर्नुभएको छ । 

सिंहदरबारमा आज बुधबार भएको भेटवार्तामा संसदीय अनुभव आदान प्रदान, द्विपक्षीय सम्बन्ध विस्तार लगायतका विषयमा छलफल भएको छ । 

नेपाल र अष्ट्रेलिया दुवै स्वतन्त्र, खुला र विविधतायुक्त समाज भएका लोकतान्त्रिक मुलुक भएको उल्लेख गर्दै सभामुख घिमिरेले लोकतान्त्रिक पद्धति, मूल्य–मान्यता र संस्थालाई थप सुदृढ बनाउन अनुभव आदान–प्रदान गर्नुपर्नेमा जोड दिनुभयो । 

उहाँले उच्चस्तरीय भ्रमणले नेपाल र अष्ट्रेलियाबीच विद्यमान मित्रवत् सम्बन्ध थप उचाइमा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।सभामुख घिमिरेले नेपालमा भर्खरै गठन भएको नेपाल–अष्ट्रेलिया मैत्री समूहले दुई देशका संसदबीचको सम्बन्धलाई थप गतिशील बनाउन विश्वास व्यक्त गर्नुभयो ।

उहाँले युवा राजनीतिज्ञहरूको भ्रमण आदान–प्रदानले दुई देशबीचको राजनीतिक तथा जनस्तरको सम्बन्धलाई थप मजबुत बनाउने उल्लेख गर्नुभयो । 

अष्ट्रेलियाका सभामुख डिकले दुई मुलुकबीच जनस्तरमा सम्बन्ध विकास गर्नुपर्नेमा जोड दिँदै आफ्नो मुलुक नेपालसँग विकास साझेदारी र जलवायु परिवर्तनविरुद्धको अभियानमा साथमै रहने बताउनुभयो ।

अष्ट्रेलियाका सभामुख डिकले बुधबार नै राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनासंग पनि भेटवार्ता गर्नुभएको थियो । 
 

प्रकाशित मिति: बुधबार, असोज १७, २०८०  १७:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update