Public Pana
अन्तरिक्षमा  पुग्ने भए नेपाली

 नेपाली विद्यार्थीले अन्तरिक्षमा पुग्ने अवसर पाउने भएका छन् ।

वास्तवमा भन्ने हो भने, ‘क्युब्स इन स्पेस’ प्रतियोगितामा सहभागिताका लागि तयारी स्वरूप नेपाल एस्ट्रोनोमिकल सोसाइटी (नासो)ले ‘क्युब्स इन स्पेस नासो २०२३’ कार्यशाला आयोजना गर्ने भएको छ ।

‘क्युब्स इन स्पेस’ एक खालको ग्लोबल इन्जिनीयरिङ डिजाइन प्रतियोगिता हो। यो कार्यक्रमबाट सन् २०२४ मा नेपालबाट छनोट भएका दुई वटा क्युब्स अमेरिकाको नेशनल एरोनोटिक्स एन्ड स्पेस एडमिनिस्ट्रेशन (नासा) मार्फत अन्तरीक्षमा पठाइनेछ ।

“सहभागी विद्यार्थीले आफ्ना प्रयोगहरू नासा साउन्डिङ रकेट तथा जेरो प्रेसर साइन्टिफिक बेलुन मार्फत अन्तरीक्षमा पठाउन सक्नेछन्,” नासोका पदाधिकारी सुरेश भट्टराईले भने । यसका लागि विद्यार्थीले आफ्नो योजना बनाउने, मूल्यांकनमा पठाउने र छनोट भए भर्जिनियास्थित ‘क्युब्स इन स्पेस’ को अफिसमा पठाउनुपर्ने हुन्छ ।

नेपालमा हुने कार्यशालामा ५५ विद्यार्थी सहभागी हुन पाउने छन्। जहाँ सहभागीहरूलाई अन्तरीक्ष विज्ञान सम्बन्धी विभिन्न ज्ञान दिंदै अन्तरीक्ष वातावरण तथा विभिन्न पक्षबारे सिकाइनुका साथै विद्यार्थीलाई प्रयोग डिजाइन गर्न लगाइनेछ।

कार्यशालामा अमेरिकाबाट अन्तरीक्षविज्ञहरूले सहभागीहरूलाई अन्तरीक्ष विज्ञानको प्रयोगपरक ज्ञान र अभिमुखीकरण गर्नेछन् ।

“अन्तर्राष्ट्रियस्तरको अवसर सिर्जना गर्न अमेरिकी संस्था इडोलइडियु इन्कसँगको सहकार्यमा यो कार्यक्रम हुन लागेको हो,” भट्टराईले भने, “५५ जना सहभागीले तालीम मात्र पाउने छैनन् उनीहरूमध्येबाट छानिएका दुई वटा अन्तरीक्ष अध्ययन सम्बन्धी परियोजनालाई अमेरिकारको नासा मार्फत अन्तरीक्षमा नै पठाइनेछ । ” 

नासोले २०७८ सालमा पहिलो पटक यस्तो कार्यक्रम आयोजना गरेको थियो । त्यस वेला दुई परियोजनाका चार क्युब अन्तरीक्षमा पठाइएका थियो। उक्त क्युब अन्तरीक्षबाट फिर्ता ल्याई हाल नेपाल एस्ट्रोनोमिकल सोसाइटीको बत्तीसपुतलीस्थित कार्यालयमा राखिएको छ ।

प्रत्येक दुई वर्षमा गरिने कार्यक्रमको यो दोस्रो संस्करण हो। यस कार्यक्रममा ११ देखि २० वर्ष उमेर समूहका विद्यालय तहमा अध्ययनरत विद्यार्थी वा विद्यालय तह सकेर विश्वविद्यालय तहमा भर्ना नभएका विद्यार्थीले सहभागिता जनाउन सक्नेछन् ।

देशभरिका विद्यार्थीहरूको पहुँच पुर्याउने उद्देश्यले कार्यक्रम अनलाइन माध्यमबाट सञ्चालन गरिनेछ ।
इच्छुक विद्यार्थीले असोज २३ गतेसम्म नाम दर्ता गर्न सक्नेछन् ।

प्रकाशित मिति: मंगलबार, असोज १६, २०८०  १६:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update