Public Pana
आर्थिक वृद्धिदर ३.९ प्रतिशत रहने विश्व बैंकको प्रतिवेदन

बहुपक्षीय विकास साझेदार विश्व ब्यांकले यो वर्ष नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशत हुने प्रतिवदेन सहितको प्रक्षेपण गरेको छ ।


विश्व ब्यांकले अर्धवार्षिक रूपमा सार्वजनिक गर्ने प्रतिवेदनमा हटाइएको आयात प्रतिबन्ध, पर्यटनमा फर्कंदो उत्साह र मौद्रिक नीतिमा क्रमश बढाइएको खुकुलोपनले गर्दा नेपालको अर्थतन्त्रमा सुधार हुने उल्लेख छ ।


गत आर्थिक वर्षमा आर्थिक वृद्धिदर १.९ प्रतिशत मात्रै भएको अनुमान छ।


आज मंगलबार सार्वजनिक भएको नेपाल विकास अपडेट अनुसार आगामी आर्थिक वर्ष २०८१÷८२ मा भने नेपालको अर्थतन्त्र पाँच प्रतिशतले वृद्धि हुने अनुमान पनि गरेको छ। यद्यपि, अनियमित वर्षाका कारणले कृषि उत्पादनमा हुनसक्ने क्षति, भारतको निर्यात प्रतिबन्ध र उपभोग्य वस्तुमा पछिल्ला दिनमा आकासिएको मूल्य नेपालको अर्थतन्त्रका लागि जोखिमयुक्त रहेको ब्यांकले जनाएको छ ।


उच्च मुद्रास्फितिका कारण बढ्दै जाने नीतिगत दर, आन्तरिक ऋण व्यवस्थापन खर्च र वृद्धिमा हुनसक्ने ढिलासुस्ती लगायतका जोखिमहरू पनि विद्यमान रहेको तर्फ प्रतिवेदनले ध्यानाकर्षण गराएको छ ।


प्रतिवेदनले नेपालको बाह्य प्रतिस्पर्धात्मकता बढाउन सहयोगी हुनसक्ने विभिन्न पक्षहरूको पनि खोजी गरेको छ। गत आर्थिक वर्षमा राष्ट्रको कुल गार्हस्थ्य उत्पादनको ६.९ प्रतिशत मात्रै कुल निर्यात रहेको थियो, जुन दक्षिणएशियाका मध्यम आय भएका देशहरूको औसतको एकतिहाइ मात्रै हो ।


प्रतिवेदनले नेपालको निर्यात न्यून हुनुमा विद्यमान न्यून श्रम उत्पादकत्व र विनिमय दरको अधिमूल्यन लगायत कारक रहेको उल्लेख गरेको छ । साथै, मुख्य व्यापार साझेदार भारतको तुलनामा कृषि, उद्योग र सेवा तीनै क्षेत्रमा रहेको श्रम उत्पादकत्वको गिरावटबाट पनि नेपाल प्रभावित रहेको औंल्याइएको छ ।
 

प्रकाशित मिति: मंगलबार, असोज १६, २०८०  १६:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update