Public Pana
पहिरोले म्याग्दीका विभिन्न सडकखण्ड अवरुद्ध 

पहिरोले म्याग्दीका विभिन्न सडकखण्ड अवरुद्ध, सयौँ यात्रु तथा सवारीसाधन अलपत्र परेका छन् । अविरल वर्षाका कारण म्याग्दीका विभिन्न स्थानमा पहिरो जाँदा मुख्य सडकहरु अवरुद्ध भएका छन् ।


हिजो सोमबार साँझदेखि रातभर परेको वर्षाको कारण पहिरो खस्दा बेनी–जोमसोम सडकखण्ड र बेनी–दरबाङ सडकखण्ड अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।


बेनी–जोमसोम सडकअन्तर्गत रघुगंगा गाउँपालिका–२ बैँसरी, कुनौटो, अन्नपूर्ण गाउँपालिका २, नौनीबगर र वडा नम्बर ३ मा पर्ने गुइँठेलगायत क्षेत्रमा पहिरोले सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।


यातायात अवरुद्ध हुँदा मुस्ताङ भ्रमणमा आएका पर्यटक, कागबेनी–मुक्तिनाथमा सोह्र श्राद्ध गर्न गएका तिर्थालुहरु बाटोमा अलपत्र परेका छन् । मुस्ताङबाट स्याउ बोकेर आएका ट्रकहरु पनि पहिरोमा फसेका प्रहरीले जनाएको छ ।


त्यस्तै, सदरमुकाम बेनीबाट पश्चिमतर्फ बेनी–दरबाङ सडकको बेनी नगरपालिका– ४ फापरखेत र मालिका गाउँपालिका – ६ बाङ्गे पहिरोमा पनि पहिरोले सडक अवरुद्ध भएको छ ।

पहिरोले जिल्लाको पश्चिम भेगका मंगला, मालिका र धवलागिरी गाउँपालिकाको यातायात विच्छेद भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, असोज १६, २०८०  १५:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update