Public Pana
पहिरोको पूर्वसूचना हुने निश्चित 

नेपालमा पहिरोको पूर्वसूचना दिने नयाँ प्रविधिको परीक्षण सफल भएको जलस्रोत अनुसन्धान तथा विकास केन्द्रले जनाएको छ ।


अब पहिरो जाने स्थान, समय बारे सहज रुपमा पहिरो पूर्व नै थाहा हुने भएको हो । 


प्रयोगशालामा परीक्षण सफल भइसकेकाले यो प्रविधिलाई पहिलो चरणमा नागढुंगा सुरुङको पश्चिम भाग, सुन्दरीजलको खड्कागाउँ र तामाकोशी–५ हाइड्रोपावर क्याम्पको माथिल्लो भाग गरी तीन ठाउँमा जडान गरिँदै छ । भविष्यमा पहिरोको अन्य जोखिम क्षेत्रमा पनि विस्तार गर्ने योजना छ ।


जलस्रोत अनुसन्धान तथा विकास केन्द्रकी कार्यकारी निर्देशक सरिता दवाडीका अनुसार ताररहित यो प्रविधिले जमिनको कम्पन र स्लोप (ढल्काइ)को संकेत पाउनासाथ खतराको संकेत स्वरुप साइरन बजाउँछ ।

साइरन बज्नासाथ प्रभावित क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सार्न सकिन्छ ।


जमिनको कम्पन नाप्ने सेन्सरले स्वचालित रुपमा फिल्डमा नै खतराको संकेत स्वरुप साइरन बजाउने र जमिनबाट प्राप्त ढल्काइको डाटालाई कम्प्युटर सिस्टममा हेरेर र विश्लेषण गरेर पूर्व सतर्कता अपनाउन सकिने दोहोरो सुविधा भएकाले यो प्रविधिमार्फत् पहिरोबाट हुने जनधनको क्षति न्यूनीकरण गर्न सहयोग पुग्ने विश्वास गरिएको दवाडीले बताइन् ।


गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको २०७९ सालको मनसुनजन्य विपदका घटनासहितको प्रतिवेदनअनुसार सो वर्ष पहिरोका सबैभन्दा धेरै ३१० वटा घटनाबाट ९२ जनाको मृत्यु भएको थियो । १७ जना वेपत्ता, ८० जना घाइते र १ हजार ९६८ परिवार पहिरोबाट प्रभावित भएका थिए ।
 

प्रकाशित मिति: मंगलबार, असोज १६, २०८०  १२:००
प्रतिक्रिया दिनुहोस्
Weather Update