Public Pana

भारतसँग २३ रनले पराजित हुँदा नेपाली राष्ट्रिय क्रिकेट टोलीको १९ औं एसियन गेम्स अन्तगत टी २० क्रिकेटको सेमिफाइनल खेल्ने सपना अधुरै रहेको छ । 


आज मंगलबार बिहान भएको खेलमा भारतले दिएको २ सय ३ रनको चुनौतीपुर्ण लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ७९ रन मात्र बनायो । 
भारतसँगको हारसँगै नेपालले क्रिकेटबाट पदक जित्ने सम्भावना पनि समाप्त भएको छ । 
समुह चरणमा उत्कृष्ट प्रर्दशन गर्दै क्वार्टरफाइनल यात्रा तय गरेको नेपाली टोलीले मध्यम प्रर्दशन गर्दा अन्तिम चारमा पुग्ने सपना अधुरै रह्यो । 


भारतविरुद्ध खेलाडीले धैर्यता गुमाउँदा लामो सट खेल्ने धुनमा रहेका ८ ब्याटर क्याच आउट भए। 


करण केसी १८ र अविनास बोहोरा शुन्य रनमा नटआउट रहे। करणले १३ बलमा २ छक्का र १ चौका हाने । 


पहिलो विकेटका लागि ओपनर कुशल भुर्तेल र आशिफ शेखले २९ रनको साझेदारी गरे। १० रन बनाएका आशिफ ३.४ ओभरमा अभेष खानको बलमा विकेट किपरको हातबाट क्याच आउट भए। 


अर्का ओपनर कुशल भुर्तेल २८ रनमा पवेलियन फर्के। भुर्तेल ८.५ ओभरमा साइ किशोरको बलमा आवेश खानको हातबाट क्याच आउट भए। ३२ बलको सामना गरेका भुर्तेलले ४ चौका र १ छक्का हाने। कुशल मल्ल २९ रनमा क्याच आउट भए। २२ बलको सामना गरेका कुशल मल्लले २ चौका र २ छक्का हाने । 


११ औं ओभरको चौथो बलमा मल्ललाई गुमाएको नेपालले त्यही ओभरको अन्तिम बलमा कप्तान रोहित पौडेललाई पनि गुमायो। ५ बलमा ३ रन बनाएका कप्तान रोहित रवि विश्नोइको बलमा एलबीडब्लु धरापमा परे ।  


१५ औं ओभरको दोस्रो बलमा नेपालले अलराउण्डर दिपेन्द्रसिंह ऐरिलाई गुमायो। १५ बलमा ४ चौका सहित ३२ रन बनाएका दिपेन्द्र रवि विश्नोइको बलमा साइ किशोरको हातबाट क्याच आउट भए ।

  
नेपालले छैटौं विकेटका रुपमा सन्दीप जोरालाई गुमाएको हो।  १२ बलमा १ चौका र ३ छक्का प्रहार गर्दै २९ रन बनाएका सन्दीप क्याच आउट भए । 


सोमपाल कामी ७, गुलसन झा ६, सन्दीप लामिछाने ५ रनमा क्याच आउट भए । 
त्यसअघि झेझियाङ युनिर्भसिटी अफ टेक्नोलोजी क्रिकेट फिल्डमा टस जितेर ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा २ सय २ रनको योगफल तयार पारेको थियो । 


भारतका शिवम दुबे २५ र रिंकु सिंह ३५ रनमा नटआउट रहे। दुवेले १९  बलमा २ चौका र १ छक्का हाने। १४ बलको सामना गरेका सिंहले २ चौका र ४ छक्का हान्दै ३५ रनमा नटआउट रहे । 


ओपनरद्दय ओपनर यशस्वी जैसवाल र कप्तान ऋतुराज गायकवाडले ९.५ ओभरमा १ सय ३ रनको साझेदारी गर्दै भारतलाई आक्रामक सुरुवात दिलाएका थिए । 


नेपालविरुद्ध आक्रमक ब्याटिङ गरेका जैसवाल १ सय रनमा क्याचआउट भए । जैसवालले ४८ बलमा ८ चौका र ७ छक्का प्रहार गर्दै नेपालविरुद्ध शतक हानेका थिए ।


विकेटका लागि संर्घष गरिरहेको नेपालका लागि अलराउण्डर दिपेन्द्र सिंह ऐरिले पहिलो सफलता दिलाएका थिए। दिपेन्द्रले दशौं ओभरको अन्तिम बलमा ओपनर तथा कप्तान ऋतुराज गायकवाडलाई २५ रनमा कप्तान रोहित पौडेलको हातबाट क्याच आउट गराउँदै साझेदारी तोडेका थिए । 


१२ औं ओभरको चौथो बलमा सोमपाल कामीले तिलक बमलाई २ रनमा बोल्ड आउट गरे। १३ औं ओभरको अन्तिम बलमा लेग स्पिनर सन्दीप लामिछानेले ५ रन बनाएका जितेश शर्मालाई कट एण्ड बोल्ड आउट गर्दै पवेलियनको बाटो देखाए । 


दिपेन्द्रले १७ औं ओभरको दोस्रो बलमा अविनास बोहोराको हातबाट क्याच आउट गराउँदै जैसवाललाई पवेलियन पठाए । 


नेपालका लागि दिपेन्द्रसिंह ऐरिले २ विकेट लिए । सोमपाल कामी र सन्दीप लामिछानेले समान १ विकेट लिए ।  
 

प्रकाशित मिति: मंगलबार, असोज १६, २०८०  १०:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update