Public Pana
कथा लेख्दा लेख्दै तयार भयोे– ‘ऐँठन’

आख्यानकार विवेक ओझाको उपन्यास ‘ऐँठन’ले २०७९ सालको मदन पुरस्कार पायो । मदन पुरस्कार पाएपछि ओझालाई अहिले बधाईको ओइरो छ ।

फोन उठाउन भ्याइनभ्याइ छ । बिहानदेखि ‘धन्यवाद’ नै सयौं पटक भनिसके । तर, दश वर्षे जनयुद्धको पेरिफेरिमा लेखिएको ‘ऐँठन’ले एक दिन मदन पुरस्कार पाउला भनेर लेखक ओझाले सोचेकै थिएनन् ।


२०७४ सालदेखि पाँच वर्षसम्म रिसर्च, अध्ययन र लेखनमा व्यस्त रहँदा ओझाको एउटै चाहना थियो, पुस्तक धेरैभन्दा धेरै पाठकसम्म पुगोस् । ओझा भन्छन्, ‘मैले इमानदार भएर मेहनत गर्ने कोसिस गरें । आफ्नो सम्पूर्ण आउटपुट दिने प्रयास गरें र बाँकी सबै कुरा त किताब स्वयंले यात्रा तय गरेको हो ।’


अहिले आएर मदन पुरस्कार जस्तो सम्मानित पुरस्कार पाउँदा भने खुशी लागेको ओझा बताउँछन् । पुरस्कार पाएपछि अझै थुप्रै पाठकसम्म पुग्ने अपेक्षा ओझाको छ । जुनसुकै माध्यमबाट होस्, धेरैभन्दा धेरै पाठकसम्म पुगेर न्यानो माया पाउनु नै आफ्ना लागि ठूलो कुरा रहने ओझाको भनाइ छ ।


ओझा सुदूरपश्चिमका लेखक हुन् र ओझाले सुदूरकै कथा आख्यानमा उन्छन् ।
ओझाले २०७४ मा ल्याएको उपन्यास ‘ऐलानी’ले वादी समुदायको विषय उठाएको थियो । ओझा आफैं सुदूरका, उपन्यासको क्यानभास पनि सुदूरकै थियो । ओझा स्वयं सानैदेखि वादी समुदायसँग नजिक थिए ।

त्यसैले पनि आफूले ‘ऐलानी’मा वादी समुदायको कथा उठान गरेको ओझा बताउँछन् ।


‘ऐलानी’ आएको पाँच वर्षपछि ओझाले नयाँ उपन्यास ल्याए ‘ऐँठन’ । दश वर्षे जनयुद्धको क्यानभासमा तयार पारिएको ‘ऐँठन’मा माओवादीको हिंसात्मक विद्रोह र त्यसको दमनमा राज्यले गरेको प्रतिहिंसाको बीचमा पिल्सिएका भुईं मान्छेको कथा छ ।


‘ऐँठन’का लागि ओझाले गाउँगाउँ गएर अनेक पात्रलाई भेटे । रिसर्च गरे । अध्ययन गरे । पुराना पत्रपत्रिकाहरु पढे । जनयुद्धका पीडितहरुलाई भेटे र उपन्यास तयार पारे ।


अहिले उपन्यासले पुरस्कार पाएपछि ती मेहनत सम्झिँदा ओझालाई कस्तो लाग्छ ?
ओझा भन्छन्, ‘कोही साथीहरु विदेश गएर घर बनाए । कसैले गाडी किने । वस्तुगत जीवनमा उनीहरुले फड्को मारे ।

मैले ती सबै कुरा त्यागें । मैले त्यो जीवन त्यागेर लेखनमा समय दिएँ । अहिले पुरस्कार पाउँदा मैले लिएको जोखिमले न्याय पायो जस्तो लागेको छ ।’


तर, संघर्षको कथा भने यही पुरस्कारले टुंग्याउन नसक्ने बताउँछन् ओझा ।

Cinema-Film-1697790796.jpg

प्रकाशित मिति: सोमबार, असोज १५, २०८०  ०६:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update