Public Pana
अखाद्य वस्तु भेटेपछि पेप्सी उत्पादक वरुण वेभरेजलाई २ लाख जरिवाना

पेय पदार्थमा अखाद्य वस्तु भेटिएपछि काठमाडौँ महानगरपालिकाले वडा ३२ स्थित पेप्सीकोलामा रहेको वरुण वेभरेजलाई २ लाख रुपैयाँ जरिवाना गरेको छ।
 

कामपाले आज गरेको बजार अनुगमनका क्रममा ढुसी परेको पेयपदार्थ (स्लाइस) फेला परेपछि उक्त उत्पादक कम्पनीलाई कारबाहीस्वरुप २ लाख रुपैयाँ जरिवाना गरिएको कामपा कृषि तथा पशुपन्छी  विभागका प्रमुख डा अवधेश झाले जानकारी दिए।
 

प्रमुख झाका अनुसार अनुगमनको क्रममा दोषी ठहर र सञ्चालकसँग कुरा गर्दा स्पष्ट जवाफ नदिएपछि बजार व्यवस्थापन तथा अनुगमन ऐन, २०७७ को दफा ९ अनुसार कारबाही गरिएको हो। 
 

उक्त जरिवाना रकम आगामी एक साताभित्र बैंक खातामा जम्मा गर्न कामपाले निर्देशन दिएको छ। तोकिएको समय सीमाभित्र जरिवाना रकम नबुझाए सोही ऐनको दफा ३० को उपदफा ३ बमोजिम थप कारबाही हुने कामपाले स्पष्ट पारेको छ।
 

अनुगमन टोलीले कम्पनीलाई बजारमा लगिएका सामग्री फिर्ता लैजाने व्यवस्था गर्न, ब्याकिङपछि रसायनिक, भौतिक दुवैतर्फ गुणस्तर कायम गर्न, एकपटक बजार लगिएका सामग्री पुनःउत्पादन भए पुनःपरीक्षण गर्न समेत निर्देशन दिएको छ ।
 

चालु आर्थिक वर्षमा कामपाले स्वास्थ्य क्षेत्रका लागि ९२ करोड ६६ लाख ४४ हजार रुपैयाँ विनियोजन गरेको छ। जसमा व्यक्तिगत तथा संस्थागत भान्साघर स्वस्थ्यकर बनाइ राख्नका लागि ३ करोड ५० लाख छुट्याएको छ । 
 

बजार थप व्यवस्थित गर्न कामपाले गत साउनभित्र अनुगमनका सूचक तयार गरी भदौ १ गतेदेखि नियमित अनुगमन गर्दै आएको छ । 
 

विगत वर्षहरूमा कामपाले चाडबाड आउनै लाग्दा मात्रै अनुगमनको गर्ने गरेको थियो।

मौसमी रूपमा गरिएको अनुगमन प्रभावकारी नभएको र त्यसले उपभोक्तालाई राहत नमिलेको भन्दै अहिले कामपाले चाडबाड सुरु हुनु केही महिना अघिदेखि नै अनुगमनको कामलाई निरन्तरता दिइरहेको छ ।
 

उपप्रमुखको संयोजकत्वमा रहेको बजेट तथा कार्यक्रम तर्जुमा समितिले पेश गरेर नगरसभाबाट पारित भएका कार्यक्रमको अनुगमन उपप्रमुखकै संयोजकत्वमा रहेको अनुगमन तथा सुपरीवेक्षण समितिले गर्ने व्यवस्था रहेको छ । 

प्रकाशित मिति: सोमबार, असोज १५, २०८०  ०६:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update