Public Pana
१० सांसद लागे विदेशतिर, थाहै भएन सभामुखलाई 

सभामुख देवराज घिमिरेलाई समेत पत्तै नदिई झण्डै एक दर्जन सांसद विदेश सयरमा निस्केका छन् ।

केही विदेश भ्रमणको तयारीमा छन् । सभामुख घिमिरेले सांसदहरुलाई विदेश भ्रमणमा निस्कन परेमा संसद सचिवालयको आधिकारिक च्यानल प्रयोग गरेर मात्र जान निर्देशन गरेपनि सांसदहरुले भने आफैं कार्यक्रम खोज्ने र विदेश सयरमा कुदिहाल्ने पूरानै आलोचित चलनलाई नै निरन्तरता दिएका छन् ।
 

आफै कार्यक्रम खोज्ने, कार्यक्रम बनाउने र विदेश उडिसकेपछि मात्र संसद सचिवालयलाई विदाको जानकारी गराउने पूरानै आलोचित शैलीको अहिले पनि सांसदहरुले पछ्याएका छन् ।
 

हिजो शनिबार मात्रै एकनाथ ढकाल जोडिएको युनिभर्सल पिस फेडेरेसन नामक एनजिओको कार्यक्रममा सभामुख घिमिरेलाई थाहा पत्तो नै नदिईकन १० जना सांसदहरु विदेश भ्रमणमा निस्केका छन् ।
 

युनिभर्सएल पिस फेडेरेसन नामक एनजिओको कार्यक्रम ‘इन्टरनेशनल एसोसिएिसन अफ पर्लियामेन्ट फर पिस (आइएपीपी) को आयोजनामा विभिन्न देशका सांसदहरुको सम्मेलनमा भाग लिन भन्दै प्रमुख प्रतिपक्षी दल एमाले बाहेकका कांग्रेस, माओवादी, एकीकृत समाजवादी, राष्ट्रि«य स्वतन्त्र पार्टी लगायतका दलका सांसदहरु थाइल्यान्ड उडेका छन् ।
 

उनीहरु हिजो शनिबार दिउँसो साँढे १ बजे थाइ स्माइल धभ३२० नम्बरको प्लेनबाट थाइल्याड उडेका हुन् । यसरी उड्नेमा राज्य ब्यवस्था तथा सुसासन समितिका सभापति समेत रहेका सांसद रामहरी खतिवडा, मेटमणी चौधरी, सन्तोष परियार, तोसिमा कार्की, महेन्द्रबहादुर शाही, जीवन परियार, महेन्द्रकुमार राय, सुशिला थिंङ, बद्रीप्रसाद पाण्डे र शान्ति विक लगायत १० जना सांसद छन् ।
 

उनीहरु आफैले कार्यक्रम प्रायोजक खोजेर विदेश भ्रमणमा निस्केका हुन् । यस अगाडीका संसदहरुमा पनि सांसदहरुले आफैं कार्यक्रम बनाई विदेश भ्रमणमा टाप कस्न थालेको भन्दै निक्कै आलोचना भएको थियो । त्यस्तो आलोचना रोक्न सभामुख घिमिरेले संसदको समिति सभापति चयन भएलगत्तै सचेत गराएका थिए ।
 

तर अहिले पनि सांसदहरुले त्यसैगरी पूरानै शैली अवलम्बन गदै आफै कार्यक्रम खोज्दै विदेश सयर गर्ने परम्पराको सिको गरेका छन् । यो सिको गर्नेमा पूराना भन्ने पार्टीहरु त छँदैछन्, नयाँ भन्ने पार्टीहरुका सांसदहरु पनि अग्रपंक्तिमा देखिएका छन् । 
 

पूराना पार्टीहरुले परम्परा सवै भत्काएको, वेथिती बढाएको भनेर त्यसलाई सच्चाउन भन्दै उदाएका रास्वपा लगायतका नयाँ दलका सांसदहरु पनि त्यसैगरि विदेश भ्रमणमा कुद्न थालेको संसद सचिवालय स्रोतले जनाएको छ ।
 

रास्वपाका प्रमुख सचेतक सन्तोष परियार देखि तोसिमा कार्कीसम्मका नेताहरु पनि अहिले युनिभर्सल पिस फेडेरेसन नामक एनजिओको कार्यक्रममा थाइल्णन्ड पुगेका हुन् । यो कार्यक्रम ४ दिनसम्म चल्ने भन्दै सांसदहरुलाई प्रायोजकले थाइल्णन्ड पु-याएको छ । थाइल्यान्ड भ्रमणमा निस्केका सांसदहरुको अहिलेसम्म संसद सचिवालयमा आधिकारिक बिदाको जानकारी पुगेको छैन ।
 

संसद सचिवालयका प्रवक्ता समेत रहेका एकराम गिरिले सचिवालयमा कुनै पनि सांसदको अहिले विदाको जानकारी नआएको बताए । ‘‘यता सचिवालयमा कुनै जानकारी आएको छैन, उता सभामुखको सचिवालयमा आएको छ की, त्यत्ता बुझनुपर्ला,’ गिरिले भने ।

प्रकाशित मिति: आइतबार, असोज १४, २०८०  ११:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update