Public Pana
पर्वतमा बाढीले बगाएको जिप भेटिदा एक मृत फेला, दुई बेपत्ता

पर्वतको कुश्मा नगरपालिका–७ र ८ को सिमानामा रहेको तमादी खोलामा आएको बाढीले बगाएको जिप फेला परेको छ । 
 

कुश्मा नगरपालिका–८ को मोदी खोला र तमादी खोलाको दोभानमा हिलोमा पुरिएको अवस्थामा जिप फेला परेको हो ।


जिपसँगै एक जना यात्रु मृत भेटिएका छन् । मृतकको सनाखत भइसकेको छैन । 

जिपमा सवार रहेका अन्य दुई यात्रुको अवस्था अज्ञात रहेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायब उपरीक्षक खुमलाल भुसालले जानकारी दिए ।

बेपत्ता यात्रुको खोजी जारी छ । उनीहरु सवै पुरुष हुन् । 
बागलुङबाट पोखरातर्फ जाँदै गरेको ग १ ज ६२१३ नम्बरको जिप शनिबार साँझ साढे ६ बजेतिर बाढीले बगाउँदा तीनजना बेपत्ता भएका थिए । 

खोलामा बाढीले ल्याएको ढुङ्गा पन्छाउने क्रममा जिप बगेको हो । जिपका चालक वसन्त थापा ढुंगा पन्छाउन झरेका कारण ज्यान जोगाउन सफल भएका छन् । 

घटनास्थलमा प्रहरी र सुरक्षाकर्मीले उद्धार कार्य जारी राखेका छन् । हिजो शनिबार  साँझ परेको भीषण वर्षाका कारण उक्त खोलामा बाढी गएको थियो ।
 

प्रकाशित मिति: आइतबार, असोज १४, २०८०  ०७:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update