Public Pana
चीन भ्रमण पूर्णरुपमा सफल भएको प्रधानमन्त्रीको दावी

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चीनको औपचारिक भ्रमण द्विपक्षीय सम्बन्ध विस्तारमा केन्द्रित रहेको र पूर्णरुपमा सफल भएको बताउनुभएको छ ।
 
संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभा र चीनको साताव्यापी भ्रमण पूरा गरी आज स्वदेश फर्कनुभएका प्रधानमन्त्री दाहालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा भन्नुभयो, “मेरो चीन भ्रमणले दुई देशबीचको आपसी विश्वासको वातावरणलाई थप सुदृढ गर्दै दुवै मुलुकबीच रहिआएको ऐतिहासिक सम्बन्धको समग्र पक्षलाई थप प्रगाढ बनाउन महत्वपूर्ण भूमिका खेलेको विश्वास लिएको छु ।”

नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री दाहाल यही सेप्टेम्बर १७ देखि २१ सम्म संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभा भाग लिन अमेरिकाको न्यूयोर्क प्रस्थान गर्नुभएको थियो । महासभामा सहभागी भई प्रधानमन्त्री दाहाल त्यतैबाट जनवादी गणतन्त्र चीनको भ्रमणमा जानुभएको थियो ।

चीनका प्रधानमन्त्री लि छियाङको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री दाहालले यही सेप्टेम्बर २३ देखि ३० सम्म मित्रराष्ट्र चीनको औपचारिक भ्रमण गर्नुभएको हो । प्रधानमन्त्री दाहाल चीनको हाङझाउमा आयोजित १९औँ एशियाली खेलकुदको उद्घाटन समारोहमा पनि सहभागी हुनुभयो । 

खेदकुदको उद्घाटन समारोह अघि चिनियाँ राष्ट्रपति सी चिनफिङसँग प्रतिनिधिमण्डलस्तरमा वार्ता भएको जानकारी दिँदै प्रधानमन्त्री दाहालले भन्नुभयो, “राष्ट्रपति सी चिनफिङसँग अत्यन्त हार्दिक र सौहार्दपूर्ण वातावरणमा भएको द्विपक्षीय वार्तामा दुवै देशमा विद्यमान अवसर र सम्भावनाको भरपुर सदुपयोग गर्दै आपसी सम्बन्धलाई थप दरिलो बनाउने विषयमा सघन छलफल भयो ।”

चीनका राष्ट्रपति सि चिनपिङले गर्नुभएको नेपाल भ्रमणपछि प्रधानमन्त्री स्तरमा नेपालबाट गरिएको यो पहिलो उच्चस्तरीय भ्रमण भएको उहाँको भनाइ छ । “कोभिड–१९ महामारीका कारण लामो समयदेखि उच्चस्तरमा भ्रमण नभइरहेका सन्दर्भमा मेरो चीन भ्रमणले दुई देशबीच आपसी विश्वासको वातावरणलाई थप सुदृढ गर्दै दुवै मुलकबीच रहिआएको ऐतिहासिक सम्बन्धको समग्र पक्षलाई थप प्रगाढ बनाउन महत्वपूर्ण भूमिका खेलेको विश्वास लिएको छु”, प्रधानमन्त्री दाहालले भन्नुभयो ।

भ्रमणका दौरान चीनका राष्ट्रपति र प्रधानमन्त्रीसँग भएका छलफलबाट नेपाल–चीन सम्बन्धलाई थप उचाइ दिन मद्दत पुगेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले विगतमा भएका समझदारीको कार्यान्वयन गर्दै लैजाने प्रतिबद्धता व्यक्त भएको जानकारी दिनुभयो ।

दुई देशबीचको रहेको बहुआयामिक सम्बन्धलाई अझ प्रगाढ बनाउने सम्बन्धमा विचारको स्पष्ट आदानप्रदान हुनुका साथै नेपालको विकास प्रयासमा चीनको साथ र सहयोगका सम्बन्धमा खुलेर कुरा भएको प्रधानमन्त्री दाहालको भनाइ छ ।

“नेपाल सदैव एक चीन नीतिमा प्रतिबद्ध रहँदै आएको छ”, प्रधानमन्त्री दाहालले भन्नुभयो, “सो विषयलाई पुनःपुष्टि गर्दै नेपाल–चीनबीचको सम्बन्ध पञ्चशीलको सिद्धान्त, असल मित्रता, आपसी साझेदारी र सम्मान तथा अन्तर्राष्ट्रिय मूल्यमान्यता र कानुनमा आधारित रहने र भविष्यमा यो सम्बन्धलाई अझ दरिलो, अझ प्रगाढ र अझ उचाइमा लैजाने दिशातर्फ दुवै पक्षले गर्नुपर्ने कार्यका बारेमा छलफल भयो ।”

चीनले गरिबी निवारण र आर्थिक समृद्धिका क्षेत्रमा हासिल गरेको अद्वितीय सफलतालाई असल अभ्यासका रूपमा लिइ चीनसँगको व्यापार, लगानी, अन्तरदेशीय यातायात सञ्जाल र आर्थिक सामाजिक साझेदारी वृद्धि गर्दै लैजाने दिशातर्फ हाम्रो सम्बन्ध केन्द्रित रहनुपर्ने विषयमा आफूले राखेको धारणाप्रति चिनियाँ राष्ट्रपतिले चीनको पूर्ण समर्थन रहने बताउनुभएको प्रधानमन्त्री दाहालको भनाइ छ । 

सो भेटमा नेपाल–चीनबीचको जनस्तरको सम्बन्धलाई प्रगाढ बनाउन पोखरा र भैरहवास्थित अन्तर्राष्ट्रिय विमानस्थलमा चीनबाट सोझै हवाई उडानका लागि दुई देशका उड्डयन निकायबीच सहकार्य गर्न प्रोत्साहन गर्ने बारेमा सकारात्मक छलफल भएको प्रधानमन्त्री दाहालले उल्लेख गर्नुभयो ।

प्रकाशित मिति: शनिबार, असोज १३, २०८०  १५:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update