Public Pana
रोनाल्डोको निर्णायक गोलमा अल–नासर विजयी

क्रिस्टियानो रोनाल्डोले अन्तिम समयमा गरेको गोलको मद्दतले अल–नासर साउदी प्रो लिगमा रोमाञ्चक जीत हासिल गरेको छ ।

हिजो शुक्रबार राति भएको खेलमा अल–नासर अल–ताईविरुद्ध २–१ गोलले विजयी बन्यो ।
खेलको ३२ औँ मिनेटमा एन्डरसन टालिस्काले गोल गर्दै अल–नासरलाई अग्रता दिलाएका थिए ।

तर, ७९ औँ मिनेटमा भर्जिल भिसिडजानले बराबरी गोल फर्काए । खेल बराबरीतर्फ अघि बढिरहँदा ८७ औँ मिनेटमा रोनाल्डोले पेनाल्टीमार्फत गोल गर्दै टोलीलाई महत्त्वपूर्ण तीन अङ्क दिलाए ।
 

यो सिजन साउदी प्रो लिगमा रोनाल्डो १० गोलसहित सर्वाधिक गोलकर्ताको सूचीमा छन् । त्यस्तै, ५ एसिस्टसहित उनले सबैभन्दा धेरै गोलको अवसर पनि सिर्जना गरेका छन् ।


योसँगै लिगमा उनले लगातार १८ औँ सिजन दोहोरो अंकमा गोल गर्न सफल भएका छन् । पछिल्लो पटक सन् २००४÷०५ सिजनमा उनले यो उपलब्धि हासिल गर्न चुकेका थिए । त्यस यता उनले क्लबका लागि ७११ गोल गरिसकेका छन् ।


लिगमा लगातार छैटौँ जीतसहित टोली चौथो स्थानमा उक्लिएको छ । ८ खेलपछि टोलीको १८ अङ्क रहेको छ ।

शीर्ष स्थानमा रहेको अल हिलालभन्दा टोली मात्र २ अङ्कले पछि रहेको छ ।
 

प्रकाशित मिति: शनिबार, असोज १३, २०८०  ०६:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update