Public Pana
सेवा बन्द र खारेज भएका दूरसञ्चार सेवा प्रदायकलाई बक्यौता बुझाउन विद्युत प्राधिकरणको आदेश

नेपाल विद्युत प्राधिकरणले हाल सेवा नै बन्द भएको र खारेजीमा परेका दूरसञ्चार सेवा प्रदायकहरुलाई आफ्नो बाँकी बक्यौता शुल्क रकम तिर्न भनेको छ।

विद्युत प्राधिकरणको प्रसारण निर्देशनालय दरबार मार्गले विद्युत प्राधिकरणको अप्टिकल फाइबर भाडामा लिए बापतको महसुल बुझाउन भनेको हो।

विद्युत प्राधिकरणले यसरी भाडा बापतको महसुल रकम बुझाउनका लागि हाल सेवा बन्द रहेको टेलिकम अपरेटर युनाइटेड टेलिकम लिमिटेड (युटिएल) तथा इन्टरनेट सेवा संचालनको अनुमति नै खारेज भएको आईटेल कम्युनिकेसन प्रालि र एस्किना केबल नेटवर्क प्रालिसहित अन्य कम्पनीहरुलाई शुल्क बुझाउन भनेको छ ।

प्राधिकरणकाअनुसार यसरी शुल्क नबुझाउने अन्य कम्पनीहरुमा काठमाडौं स्थित लुप नेटवर्क प्रालि र मोरङ्गको डिजिटल अप्टिकल इन्टरनेटमेन्ट नेटवर्क प्रालि रहेका छन् ।

युटिएलको सेवा हाल बन्द रहेको छ भने कम्पनीको कार्यालय त्रिवेणी कम्प्लेक्समा संचालनरत छ ।

युटिएलले नेपाल सरकार र नेपाल दूरसञ्चार प्राधिकरणलाई समेत अर्बौं रुपैयाँ रकम तिर्न बाँकी रहेको छ। कम्पनीले उक्त रकम किस्ताबन्दीमा तिर्दै आएको छ ।

स्मरणरहोस् लुप नेटवर्कले केहि समयअघि प्राथमिक शेयर निष्कासन गर्ने भनेर लिमिटेड कम्पनीमा रुपान्तरण भएको छ ।
 

प्रकाशित मिति: शुक्रबार, असोज १२, २०८०  १६:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update