Public Pana
ओलीले मिलाउन सकेनन्, बाग्मती प्रदेशमा हुने नै भयो आज चुनाव

नेकपा एमाले बागमती प्रदेश कमिटीको सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास असफल भएको छ । 

असोज ८ गते अधिवेशन उद्घाटन भएर ९ गतेदेखि बन्द सत्र सुरु भए पनि सर्वसम्मत नेतृत्व छान्न खोज्दा चुनावी कार्यतालिका तेस्रोपटक सार्नु परेको छ । 

पहिलोपटक अधिवेशन गरेको बागमती प्रदेश कमिटीको सकभर चुनाव नगर्ने अध्यक्ष केपी ओलीको चाहना छ । 
तर, नेतृत्वका लागि मकवानपुरका कृष्णप्रसाद दाहाल र रामेछापका कैलाश ढुंगेलले अडान नछोडेपछि आज (शुक्रबार) चुनाव हुन लागेको हो ।

चितवन जिल्ला अध्यक्ष रामप्रसाद न्यौपानेले नेपालखबरलाई दिएको जानकारी अनुसार अध्यक्षमा २, उपाध्यक्षमा ४, सचिवमा ४, उपसचिवमा ३ सहित सबै पदमा धेरैको उम्मेदवारी परेकोले चुनाव गर्न लागिएको हो ।

निर्वाचन कमिटीले शुक्रबार बिहान सबेरै उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेको छ । उम्मेदवारको नामावली प्रशासन गर्ने तालिका बिहीबारकै लागि थियो । तर, बिहीबार सहमतिका लागि भन्दै उम्मेदवार अन्तिम नामावली प्रकाशन गरिएको थिएन ।

बागमती प्रदेश कमिटीको नेतृत्वका लागि सुरुमा ५ जनाले उम्मेदवारी दर्ता गरेका भएपनी बिहीबार सानु श्रेष्ठ, केशव पाण्डे र केशर बुढाथोकीले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् ।
‘अब १० बजेतिर चुनाव सुरु भैसक्छ । विद्युतीय मतदान हुनेछ । चुनावको सबै प्रक्रिया पूरा भएको छ,’ अध्यक्षका उम्मेदवार कृष्ण दाहालले भने ।

एमाले बागमतीको अधिवेशनमा १ हजार १७४ मतदाता छन् । उनीहरुले पदाधिकारीसहित २ सय ४० सदस्यीय बागमती प्रदेश कमिटी छनोट गर्नेछन् ।
 

प्रकाशित मिति: शुक्रबार, असोज १२, २०८०  ०९:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update