Public Pana
प्रधानमन्त्री प्रचण्ड आज छेन्दु जाँदै, भोलि स्वदेश फर्किने

चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज शुक्रबार चीनको छेन्दु जाने भएका छन् । प्रधानमन्त्री दाहाल तिब्बतको ल्हासाबाट उडानमा छेन्दु जान लागेका हुन् ।
 

उनी स्थानीय समयअनुसार ९ः४५ बजे मानसरोवरको अलि घुन्सा विमानस्थलबाट ल्हासा विमानस्थल प्रस्थान गर्ने र ल्हासा विमानस्थलबाट छेन्दुका लागि प्रस्थान गर्ने कार्यक्रम रहेको छ । 
 

उनी स्थानीय समयअनुसार अपराह्न २ः३० बजे छेन्दु पुग्नेछन् । छेन्दुमा रहँदा उनले पाण्डा प्रजनन केन्द्रको निरीक्षण गर्ने कार्यक्रम रहेको छ ।
 

त्यसपछि उनले साँझ चिनियाँ कम्युनिष्ट पार्टीको सिचुआन प्रान्तीय कमिटीका सचिव वाङ सियाओसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । आजै साँझ प्रधानमन्त्रीको सम्मानमा सचिव सियाओले रात्रिभोजको पनि आयोजना गर्नेछन् ।
 

अस्ति बुधबार चीनको छोङछिङबाट ल्हासा आइपुगेका प्रधानमन्त्री दाहाल हिजो बिहीबार कैलाश मानसरोवरको भ्रमण गरेका थिए । प्रधानमन्त्री दाहालले ल्हासामा रहँदा विभिन्न द्विपक्षीय भेटवार्ता गरेका थिए । 
 

त्यसपछि उनले बुधबार नै ल्हासास्थित प्राचीन पोताला दरबार र जोखाङ मन्दिरको भ्रमण गरेका थिए ।
 

प्रधानमन्त्री दाहाल र उनको भ्रमण दलका सदस्यहरू भोली शनिबार छेन्दुबाटै काठमाडौँ फर्कने कार्यक्रम रहेको छ । 
 

प्रकाशित मिति: शुक्रबार, असोज १२, २०८०  ०६:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update