Public Pana
कर्णालीमा पनि चुनाव हुने 

लुम्बिनी र बागमतीपछि नेकपा एमाले कर्णाली प्रदेश अधिवेशनमा पनि अध्यक्षका लागि प्रतिस्पर्धा हुने देखिएको छ ।
 

अधिवेशन उद्घाटन गर्न सुर्खेत पुगेका अध्यक्ष केपी शर्मा ओलीले मीनबहादुर शाहीलाई सर्वसम्मत अध्यक्ष बनाउन दबाब दिएका थिए । 
 

तर, कुनै समय ओलीनिकट रहेका नेता यामलाल कँडेलले केन्द्रको दबाब र प्रभाव नसहने भन्दै गुलाबजंग शाहलाई अध्यक्षमा अगाडि सार्ने भएका छन् 
कँडेल यसअघि कर्णालीको एमाले इन्चार्ज बनाइएका थिए । तर, लेखराज भट्टलाई इन्चार्ज बनाएर कर्णाली पठाएपछि कँडेल असन्तुष्ट छन् । उनलाई दैलेख जिल्लाको इन्चार्ज बनाइएको छ ।

 

आफूलाई कर्णालीको इन्चार्ज नबनाइएदेखि नै कँडेल ओलीसँग असन्तुष्ट रहेको बताइन्छ । यसैले ओलीले शाहीका नाममा समर्थन गर्न दबाब दिए पनि कँडेलले शाहलाई अगाडि सार्ने तयारी गरेका हुन् । 
 

वरीयताका हिसाबले पनि गुलाबजंग पोलिटब्यूरो सदस्य हुन् । तर, शाही प्रदेश कमिटी सदस्य मात्रै हुन् । भोली शुक्रवार कर्णालीमा उम्मेदवारी मनोनयन गर्ने कार्यक्रम छ । 
नेता कँडेल नेताहरूले सहमतिका लागि प्रयत्न गर्ने तर एकभन्दा बढी उम्मेदवार देखिए स्वाभाविक हिसाबमा चुनाव हुने बताउँछन् । 

 

प्रदेश अध्यक्ष विनोदुकमार शाह र गोरखबहादुर बोगटीले पनि मीनबहादुरलाई नै साथ दिएको बताइन्छ । केन्द्रीय सदस्य बोगटीले बन्दसत्रपछि नेतृत्व चयनको प्रक्रियामा छलफल हुने जानकारी दिए । 
 

एमाले प्रदेश अधिवेशनअन्तर्गत लुम्बिनीमा उपाध्यक्ष विष्णु पौडेल निकटका राधाकृष्ण कँडेल २ मतले विजयी हुँदा केपी ओली–शंकर पोखरेल प्यानलका हरि रिजाल पराजित भएका थिए । 

त्यस्तै, सहमतिको प्रयास भए पनि बागमती एमाले प्रदेश कमिटीको नेतृत्वका लागि पनि कृष्णप्रसाद दाहाल र कैलाश ढुंगेलबीच मुख्य प्रतिस्पर्धा हुने भएको छ ।

एमाले केन्द्रीय सदस्य (सुर्खेत) मोहनमाया ढकाल (भण्डारी) अधिवेशनमा धेरै नेतामा नेतृत्वमा पुग्ने महत्त्वाकांक्षा हुनुलाई अन्यथा लिन नहुने बताउँछिन् । 
 

प्रकाशित मिति: बिहीबार, असोज ११, २०८०  १७:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update