Public Pana
एमाले बागमती प्रदेश अधिवेशन : बहालवाला अध्यक्ष पाण्डेकै उम्मेदवारी चुकुल लगाएर गायब

एमाले बागमती प्रदेश अधिवेशनमा वर्तमान अध्यक्ष केवशराज पाण्डेको उम्मेदवारी गायब भएको छ ।
 

हिजो बुधबार साँझ पाण्डेले वारेसमार्फत उम्मेदवारी दर्ता गराएका थिए । तर, निर्वाचन कमिटीका संयोजक डिल्ली मल्लले पाण्डेको उम्मेदवारी नै नपरेको जानकारी दिए ।
 

‘निर्वाचन कमिटीमा अध्यक्षका लागि ४ जनाको मात्रै उम्मेदवारी परेको छ । केशव पाण्डेको फर्म अन्तै कता  उहाँले सहमति गर्नुभयो, त्यो हामीलाई थाहा छैन । तर, निर्वाचन सचिवालयमा उहाँको नाम आएको छैन ।’
 

च्यासलस्थित एमाले मुख्यालय परिसरको तुल्सीलाल स्मृति प्रतिष्ठानको निर्वाचन कार्यालयमा पाण्डेले वारेसमार्फत अध्यक्षमा उम्मेदवारी दर्ता गराएका थिए ।
एमालेको निर्वाचन कार्यालयका प्रतिनिधिले नै पाण्डेको उम्मेदवारी परेको भनेर टिपोट गरेका थिए ।

 

तर, निर्वाचन कमिटीका संयोजकले पाण्डेको उम्मेदवारी नै नआएको जिकिर गरेका छन्, जबकि निर्वाचन कार्यालयका कर्मचारीले गरेको टिपोटमा पाण्डेले पाँचौं नम्बरमा उम्मेदवारी दर्ता गराएको देखिन्छ । 
 

अध्यक्षमा पहिलो नम्बरमा कृष्णप्रसाद दाहाल, दोस्रोमा केशरबहादुर बुढाथोकी, तेस्रोमा कैलाशप्रसाद ढुंगेल, चौथोमा सानुकुमार श्रेष्ठ र पाँचौंमा केशवराज पाण्डेको उम्मेदवारी दर्ता भएको रेकर्डमा देखिन्छ ।
 

वारेसमार्फत गणेश श्रेष्ठले बुधबार साँझ ६ बजेर ५० मिनेटमा निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका थिए । ५ सय रुपैयाँ दस्तुर बुझाएर श्रेष्ठले उम्मेदवारी दर्ता गरेका हुन् ।
 

पाँचजनाको उम्मेदवारी परेको भन्दै सूचीसहित समाचार पनि सार्वजनिक भएका थिए । तर निर्वाचन कमिटीले पाण्डेको उम्मेदवारी नपरेको दाबी गर्न थालेको छ ।
 

पाण्डेलाई उम्मेदवार बन्न नदिन अध्यक्ष मण्डलका संयोजक गुरु बराल, नेताहरू आनन्द पोखरेल, डोरमणि पौडेल र खेम लोहनीसहितले भूमिका खेलेको नेताहरू दाबी गर्छन् ।
शुरूमा आफैं फर्म लगेका पाण्डेलाई बराल, पोखरेल, डोरमणिसहितका नेताले उम्मेदवारी नदिन मनाउनका लागि प्रयास गरेका थिए ।

 

एमाले नुवाकोट पञ्चकन्या गाउँपालिका कमिटी अध्यक्ष रामनाथ ढकालले त सामाजिक सञ्जाल फेसबूकमा लेख्दै कैलाश ढुंगेललाई अध्यक्ष बनाउन बराल र पोखरेलहरूले पाण्डेलाई कोठामा धुनेको आरोप लगाएका छन् । 
 

उनलाई ढोकामा चुकुल लगाएर भित्र राखिएको थियो । नेताहरूले रोक्न खोज्दाखोज्दै पाण्डे समर्थकले जबरजस्ती ढोका खोलेर वारेसमार्फत उम्मेदवारी दर्ताको वातावरण बनाएका थिए ।
 

प्रकाशित मिति: बिहीबार, असोज ११, २०८०  १४:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update