Public Pana
एमाले बागमती प्रदेशमा मतदान साँझ ६ बजे मात्र 

एमाले बागमती प्रदेश कमिटीको नेतृत्व चयनका लागि बिहान ८ बजेबाट शुरू हुने भनिएको मतदान साँझ ६ बजेपछि हुने भएको छ ।

निर्वाचन कमिटीका संयोजक डिल्ली मैनालीका अनुसार मतदान शुरू गर्न कम्तीमा पनि आज साँझ ६ बज्नेछ । २४० पदका लागि निर्वाचित हुने भनिएकोमा जनजाति आदिवासीको क्लस्टर छुटेपछि अब २४५ पद पुगेको छ ।

‘एमाले ठूलो पार्टी हो । धेरै प्रतिनिधि र उम्मेदवार हुँदा समस्या भइरहेको छ । १२ सय हाराहारी मतदाता छन् । त्यसैले उम्मेदवार व्यवस्थापन गर्नै निर्वाचन कमिटीलाई गाह्रो परिरहेको छ,’ मल्लले भने, ‘आदिवासी जनजाति क्लस्टरको लागि उम्मेदवारी छुटेपछि अब २४० बाट २४५ पदका लागि निर्वाचन हुने भएको छ । सबै प्रक्रिया पु¥याएपछि साँझ ६ बजेबाट मतदान शुरू हुन्छ भन्नेमा छौं ।’
थपिएको पद पदाधिकारी बाहेक सदस्यमा भएको उनले जानकारी दिए । 

१२ बजेपछि उम्मेदवारको अन्तिम नामावली प्रकाशन र ४ बजेपछि चुनावी प्रक्रियामा जाने उनको भनाइ छ । एमालेले ४० वटा भोटिङ मशिनबाट मतदानको व्यवस्था गरेको छ । 

अध्यक्षमा कृष्णप्रसाद दाहाल, कैलाश ढुंगेल, सानुकुमार श्रेष्ठ, केशरबहादुर बुढाथोकी र केशवराज पाण्डेको उम्मेदवारी परेको थियो । तर निर्वाचन समितिले पाण्डेको उम्मेदवारी नपरेको दाबी गरेको छ । यसले पनि निर्वाचन समयमा हुन समस्या भएको बुझिएको छ ।

पदाधिकारीमा दुईभन्दा बढीको उम्मेदवारी परेपछि विभिन्न समूह मिलाउने र आफ्नो समूहमा तान्ने गरी वातावरण बनाउन नेताहरू व्यस्त भइरहेका छन् । 

अध्यक्षमा अध्यक्ष केपी ओली, महासचिव शंकर पोखरेल कैलाश ढुंगेलको पक्षमा उभिँदा अरू नेताहरू भने कृष्णप्रसाद दाहालको पक्षमा उभिने सम्भावना धेरै रहेको बताइन्छ । 


 

प्रकाशित मिति: बिहीबार, असोज ११, २०८०  १२:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update