Public Pana
‘पशुपति प्रसाद २ :  कार्तिक ४ गतेबाट नेपालसँगै विश्वभरका सिनेमा घरमा 

निर्देशक दीपेन्द्र के खनालको निर्देशनमा निर्माण भएको सिनेमा ‘पशुपति प्रसाद २ :  भष्मे डन’ आगामी कार्तिक ४ गतेबाट नेपालसँगै विश्वभरका सिनेमा घरमा रिलिज हुँदैछ ।

सिनेमालाई लिएर दर्शकमाझ उच्च हाइप बनेको छ ।
नेपालमा मात्र नभएर विश्वका विभिन्न देशमासमेत सिनेमाप्रति दर्शकको माग उच्च देखिएकाले वितरकले रिलिजभन्दा एक महिना अगाडि नै अग्रिम टिकट बुकिङ खुलाउन थालेका छन् । 


अष्ट्रेलिया, अमेरिका, जापान, पोर्चुगललगायत विभिन्न देशमा सिनेमाका लागि अग्रीम टिकट बुकिङका लागि शो खोलिएका हुन् ।

नेपाली सिनेमाप्रति देखिएको यो क्रेजले नेपालमा मात्र नभएर विदेशी बजारसमेत सिनेमाले बम्पर ओपनिङ गर्ने संकेत देखिएको छ ।

सिनेमाको मेलबर्न प्रिमियरको तालिकासमेत सार्वजनिक भैसकेको छ। मेलबर्नको चाइना टाउनमा सिनेमाको प्रिमियर अक्टोबर २३ तारिखमा हुँदैछ ।


यस्तै, सिनेमाको २५ अक्टोबर, ३० अक्टोबर र ५ नोभेम्बरका लागिसमेत अग्रिम टिकट बुकिङको लागि शो खुलिसेको छ । यता जापानका लागि पनि सिनेमाको अग्रिम टिकट बुकिङ खुल्ला गरिएको छ। जापानमा अक्टोबर २७ मा केयोटो र ओसाकामा सिनेमा रिलिज हुनेछ भने अक्टोबर ३० मा कोबेमा रिलिज हुने पक्का भएको छ ।
युरोपको बेल्जियम लगायतका देशमा पनि सिनेमाले आक्रामक सुरुवात गर्ने देखिएको छ । 


अक्टोबर २१ बाट नै बेल्जियमका ५ वटा शहरमा सिनेमाको शो नै सुरु हुँदैछ । अक्टोबर २३ तारिखसम्मका लागि बेल्जियममा शो खुलिसकेको छ। ओभरसिज वितरकले सिनेमाको चाँडै अमेरिका, क्यानडा, युरोपका अन्य देश र मिडिल इष्ट लगायतका क्षेत्रमा पनि अग्रिम टिकट बुकिङ खोल्ने तयारी भैरहेको जानकारी दिएका छन् ।


प्रतिक्षित सिनेमामा ‘पशुपति प्रसाद’को मृत्यु पश्चात पशुपति क्षेत्रमा आफ्नो अस्तित्व स्थापित गर्न संघर्षरत ‘भष्मे डन’को जीवनमा एउटा रोमाञ्चक पात्रको प्रवेशपछि सुरु भएको परिचय र आत्मसम्मानको लागि गर्ने शक्ति संघर्षको कथा समेटिएको छ ।


सिनेमामा विपिन कार्की, स्वस्तिमा खड्का, सौगात मल्ल, रविन्द्र सिंह बानियाँ, माओत्से गुरुङ, प्रकाश घिमिरे, लोकेन्द्र लेखक, मिस्श्री थापा, सजन थापा मगर, विभु पौडेल, प्रकाश दाहालको पनि अभिनय रहेको छ । सिनेमामा अभिनेता तथा निर्माता खगेन्द्र लामिछाने र अभिनेत्री बर्षा सिवाकोटी पनि विशेष भूमिकामा देखिनेछन् ।


टुकी आर्ट्सको ब्यानरमा निर्माण भएको सिनेमालाई निर्माता तथा अभिनेता खगेन्द्र लामिछानेले लेखेका हुन्। सिनेमाको निर्माता पनि लामिछाने नै हुन् । सिनेमामा निरज कँडेलको डिओपी, कृष्ण थापाको छायांकन, दीर्घ खड्काको सम्पादन र कृष्ण भारद्वाजको संगीत रहेको छ ।


व्यावसायिक तथा समीक्षात्मक रुपमा सफल सिनेमा ‘पशुपति प्रसाद’को चरित्र ‘भष्मे डन’मा केन्द्रित सिक्वेलको रुपमा निर्माण गरिएको हो । 

प्रकाशित मिति: बिहीबार, असोज ११, २०८०  १२:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update