Public Pana
ओलीले दिए नेपाली खेलाडीलाई बधाई

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एसियाली खेलकुदअन्तर्गत मंगोलियाविरुद्धमा विभिन्न कीर्तिमान बनाउँदै भारतीय क्रिकेटरका समेत ‘रेकर्ड’ तोडेका नेपाली खेलाडीहरूलाई बधाई दिएका छन् ।

उनले आज बिहीवार सामाजिक सञ्जालमार्फत बधाई दिएका हुन् ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले नेपाली क्रिकेटरको प्रदर्शनबारे भारतसँगै विश्वभर चर्चा भएकोप्रति पनि खुसी व्यक्त गरेका छन् । 

 

‘नेपाली क्रिकेटरको कीर्तिमानी प्रदर्शनको विश्वभर चर्चा भएको छ। खासगरी टी–२०, वान डे, टेस्ट क्रिकेटमा माथिल्लो स्तरमा रहेको भारतका मिडियामासमेत नेपालको क्रिकेटको व्यापक चर्चा छ । अन्तर्राष्ट्रिय मिडियामा नेपाली क्रिकेट टोलीको प्रशंसाले मन आनन्दित भएको छ । बधाई नेपाली टोली र खेलाडीलाई !’, उनले टिकटकको भिडियो बिहीवार फेसबुकमा राख्दै लेखेका छन् । 
 

हिजो बुधवार बिहान नेपालले मंगोलियाविरुद्ध कीर्तिमानै–कीर्तिमान बनाएको थियो । जसमा बनाएका ४ वटा कीर्तिमान भने महत्वपूर्ण रहे ।
 

मंगोलियाविरुद्ध नेपालले सबैभन्दा ठूलो स्कोर (३१४ रन), सबैभन्दा ठूलो रन अन्तरको जीत (२७३ रनको), कम बलमा शतक, (कुशल मल्ल, ३४ बल) र कम बलमा अर्धशतक (दीपेन्द्रसिंह ऐरी, ९ बल)जस्ता ४ वटा कीर्तिमान बनाएको थियो । 
 

भारतका ठूला मानिएका सञ्चारमाध्यम (मिडिया)हरूले पनि नेपालले बनाएका कीर्तिमानबारे प्राथमिकतामा राखेर समाचार बनाएका छन् । नेपाली खेलाडीले भारतका वर्तमान कप्तान रोेहित शर्मा र युवराज सिंहजस्ता खेलाडीको कीर्तिमान भंग गरेका छन् । कुशल मल्लले ३४ बलमै शतक बनाएर कीर्तिमान बनाएका थिए । 
 

कुशलले रोहित र दक्षिण अफ्रिकाका डेभिड मिल्नरको विश्व कीर्तिमान तोेडेका हुन् । 
यस्तै, दीपेन्द्रसिंह ऐरीले भारतका युवराज सिंहको कीर्तिमान भंग गरेका थिए । दीपेन्द्रले ९ बलमै अर्धशतक हानेका थिए । यसअघि १२ बलमा शतक हानेको कीर्तिमान युवराजको नाममा थियो ।

 

चीनको झेजियाङमा भएको खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले मात्र ३ विकेटको क्षतिमा ३१४ रन बनाएको थियो । 
 

नेपालका लागि कुशलले सर्वाधिक अविजित १३७ रन बनाएका थिए । कप्तान रोहित पौडेलले ६१ र दीपेन्द्रले अविजित ५२ रन बनाएका थिए । 
३१५ रनको विशाल लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा आएको मंगोलिया १३.१ ओभरमा मात्र ४१ रन बनाएर अलआउट भयो ।

नेपालका लागि सन्दीप लामिछाने, करण केसी र अविनाश बोहराले समान २ विकेट लिएका थिए ।  
oli1695878567.jpg

प्रकाशित मिति: बिहीबार, असोज ११, २०८०  ११:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update