Public Pana
आज इन्द्रजात्रा (येँया पुन्हि) 

काठमाडौँ, भक्तपुर, ललितपुर, धुलिखेल र दोलखा समेतमा वर्षा र सहकालका देवता इन्द्रको पूजाआजा गर्ने गरिएको छ ।

काठमाडौँमा दसौँ शताब्दीका लिच्छविकालिन् राजा गुणकामदेवले इन्द्रजात्राको चलन चलाएको मानिन्छ भने कुमारी जात्रा भने अठारौँ शताब्दीको मध्यमा सुरुवात भएको मान्यता रहिआएको छ ।

यस दिन काठमाडौँका बुद्ध मार्गी नेवार समुदाय र हिन्दु मान्यताका नेवार समुदायहरूको अभूतपूर्व सहिष्णु सम्बन्धको मेल काठमाडौँको वसन्तपुर दरबार स्क्वायरमा देख्न सकिन्छ ।
 

सनातन र पुरातात्त्विक महत्त्वमा समेत इन्द्रजात्राको व्याख्या गरेको पाइन्छ । यस जात्राको सम्बन्धमा वाल्मीकि रामायण, महाभारत, कालिका पुराण, देवी पुराण, विष्णु धर्मोत्तर पुराण, हरिवंश पुराण, बृहत् संहिता र भविष्य पुराणमा समेत विस्तृत वर्णन गरेको पाइन्छ ।
 

पुराणमा उल्लेख भएअनुसार प्राचीन कालमा देवता र असुरहरू ठुलो युद्धको तयारीमा लागे । त्रिदेव र सम्पूर्ण देवगणले देवराज इन्द्रलाई विजयी गराउन ध्वजा बनाएर त्यसलाई पूजाआजा गरी इन्द्रलाई हस्तान्तरण गरे । यसरी विभिन्न देवगणले हस्तान्तरण गरेको ध्वजा इन्द्रले समातेकाले त्यस ध्वजालाई ’इन्द्र ध्वजा’ भनियो ।

देवासुर सङ्ग्राममा देवताहरूको विजय भएपछि इन्द्र ध्वज पूजा र समारोहले निरन्तरता पायो ।
स्वर्ग र पृथ्वीमा समेत यस विजयको कामनाले राजाहरूले इन्द्र ध्वज स्थापना गर्न थाले । साथै पृथ्वीको राजा उपरिचर वसुलाई देवराज इन्द्रले इन्द्र ध्वजा दिएपछि उनले युद्धमा सजिलै विजय हासिल गरेको चर्चाले सबैमा यो पर्व मनाउने हौसला जाग्यो र आफ्नो राज्यमा सुख, समृद्धि कोलागि इन्द्र ध्वजा स्थापना गर्ने परम्परा चल्न थालेको हो ।


साथै लिङ्गो ठड्याइएको तीन दिनपछि वसन्तपुर दरबार स्क्वायर क्षेत्रमा जीवित देवीका रूपमा रहेकी कुमारी, गणेश र आकाश भैरव (सवभकु)को समेत रथयात्रा गर्ने परम्परा रहिआएको छ ।

आठ दिनसम्म राजधानीको हल चोक (भक्कुनाचहलचोक)को आकाश भैरव, भक्तपुरको महाकाली नाच, मजिपातको मजिपमत लाखे नाच, दस अवतार तथा इन्द्रको वाहन ऐरावत हात्तीको प्रतिकका रूपमा (किलागलको पुलुकिसी) पुलुकिसी नाच नचाउने परम्परा रहिआएको छ । साथै यस विशेष आठ दिने अवधिमा कुमारी घर अगाडि रहेको

त्रिलोकनारायण मन्दिरमा विष्णुको दशावतार समेत देखाइने गरिएको छ ।
काठमाडौँबाट करिब ७.२ किलोमिटर पश्चिम पर्ने दहचोकस्थित इन्द्र दहमा रातभर जाग्राम बसी भोलिपल्ट स्नान गरेर मेला भर्ने चलन पनि रहिआएको छ । मध्यरातमा इन्द्रचोकमा रहेको किराँती राजा यलम्बरको शिर भनिने आकाश भैरवको मूर्तिलाई मन्दिरको बाहिर खट बनाएर राखी विभिन्न प्रकारका फूलले सिङारेर पूजा गरिन्छ। साथै धिमे बाजाको तालमा प्रसादका रूपमा भैरवको मुखमा जडित नलीबाट सर्वसाधारणका लागि जाँड र रक्सीको धारा बगाउने परम्परा छ ।

 

लिङ्गो गाडेको तेस्रो दिन अर्थात् यंलाथ्व चतुर्दशीका दिन ’क्वहने याः’ भनेर नेवार समुदायले मान्दै आएको जीवित देवी कुमारी, भैरव र गणेशलाई रथमा राखी काठमाडौँको पुरानो कान्तिपुर नगरीको तल्लो आधा भाग परिक्रमा गराइन्छ। यसै दिन बेलुकी गणेश, भैरव र कुमारीको रथ परिक्रमा सकिएपछि मरु टोलबाट बर्सभरिमा मृत्यु भएका व्यक्तिका परिवारजनले सतविज छर्दै कान्तिपुर नगरी परिक्रमा गर्छन् ।

इन्द्रजात्राको विभिन्न प्रक्रियागत सांस्कृतिक विधिहरू अन्तर्गत बहुमतः निकाल्ने भनी बाँसलाई माला उनेर लामो बनाइ त्यसमा दियो बत्ती बालेर नगर परिक्रमा गरिने गरिएको छ । यसरी आयोजन गरिने दियो बत्ती सहितको विशेष जात्रा काठमाण्डौका मानन्धर समुदायले गर्ने गर्दछन् । यंलाथ्व पूर्णि अर्थात् इन्द्रजात्राको चौथो दिन ’थहने याः’ भनेर शाक्य जातकी एक बालिकालाई कुमारीको रूप र दुई बालकलाई गणेश र भैरवको स्वरूपमा बेग्लाबेग्लै रथमा राखी बाजागाजाका साथ जात्रा निकाल्दै बुधवार तल्लो टोल

(दक्षिण) र बिहीबार माथिल्लो टोल (उत्तर)मा परिक्रमा गराइने गराइन्छ ।
सोही दिन साँझ बौद्ध धर्मावलम्बीले वर्षभरिमा दिवङ्गत भएका आफन्तहरू सुखावती भुवनमा वासको कामना गर्दै धरणी स्तोत्र पाठ गर्ने गर्छन्।

उनीहरूले बाटोभरि दियो दान गर्दै काठमाडौँ नगर बस्ती बाहिरका बाटोहरू हुँदै नगर परिक्रमा गर्ने गर्छन् । तत्पश्चात् भोलिपल्ट वामन द्वादशीमा तिलगंगामा रहेको विष्णु विक्रान्त मूर्तिमा भक्तजनहरूले पूजा अर्चना गर्दै दियो दान गर्ने परम्परा छ।

उक्त मूर्ति नेपाल संवत् ३८९ मा राजा मानदेवले आमा राजमाता राज्यवतीको पुण्य बढोस् भन्ने कामनाका साथ स्थापना गरेका थिए। यसै दिनदेखि घरघरमा काठले बनेको दलूचा (झ्यालमा झुन्ड्याउने एक प्रकारको दियो) झुन्ड्याइ इन्द्रको नाममा बत्ती बाल्ने चलन रहिआएको छ ।
 

यस विशेष दिन नेवार समुदायका मानिसहरूले ’समय्बजि’ (चिउरा, राँगाको मासुबाट बनेको छोइला, कालो भटमास, माछा, हाँसको अण्डा, बारा, आलु, साग मिश्रित विशेष खाजा) खाइन्छ ।

यंलागा चौथी अर्थात् इन्द्र जात्राको अन्तिम दिन ’नानिचा याः’ भनेर गणेश भैरव र कुमारीको तीन वटै रथलाई किलागल परिक्रमा गराई बेलुकीको साइतमा लिङ्गो ढालेर जात्राको समापन गरिने गरिएको छ ।
 

यसरी विभिन्न चरण र सांस्कृतिक झाँकीसहितको आठ दिनसम्म नेवाः समुदायले इन्द्रजात्रा हर्ष र उत्साहकासाथ मनाउने गरेका छन् ।
IndraJatra1695864606.jpeg

प्रकाशित मिति: बिहीबार, असोज ११, २०८०  ०६:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update