Public Pana

नेपाली कांग्रेस संसदीय दलले विद्यालय शिक्षासम्बन्धी विधेयकका सन्दर्भमा सरोकारवालाको गुनासोलाई संशोधन प्रस्तावमार्फत अघि बढाउने भएको छ । 
 

मंगलबार र बुधबार संसद भवन नयाँ बानेश्वरमा विद्यालय शिक्षासम्बन्धी विधेयकमा बारेमा सरोकारवालासंग छलफल गर्दै कांग्रेसले विधेयकलाई आवश्यकता अनुसार परिमार्जन गर्न पहलकदमी लिने जनाएको हो । शैक्षिक पेशलाई मर्यादित, सुरक्षित र शिक्षकहरुको हक अधिकारलाई कानूनमार्फत प्रत्याभूत गर्न गम्भीर हुनुपर्ने छलफल कांग्रेस सांसद अर्जुन नरसिंह केसीले बताउनुभयो ।
 

उहाले कानून बनाउदा सरोकारवालाहरुसंग बृहत छलफल गर्नुपर्ने र प्राप्त सुझावका आधारमा अन्तिम रुप दिन सरकार गम्भीर हुनुपर्ने बताउनुभयो । उहाले शैक्षिक समस्याप्रति गम्भीर भएर कांग्रेसले सरोकारवाला लगाएत बिज्ञहरुसंग छलफल गरेको भन्दै प्राप्त सुझावहरु प्रति कांग्रेसको ध्यानाकर्षण भएको धारणा राख्नुभयो । 
 

छलफल पछि कांग्रेस उपसभापति समेत रहनुभएका कानूनमन्त्री धनराज गुरुङले संक्रमणकालीन न्याय, शिक्षा लगाएत धेरै विधेयकहरु छलफलका क्रममा रहेको भन्दै महत्वपूर्ण विधेयकहरुलाई टुङ्गो लगाएर मात्रै अधिवेशन अन्त्य गर्न चाहेको बताउनुभयो । 
त्यस्तै कांग्रेस मुख्य सचेतक रमेश लेखकले छलफलमा आएका बिचारहरुमाथि छलफल गरेर विधेयकमाथि संशोधन प्रस्ताव दर्ता गराउने जिकिर गर्नुभयो । उहाले शिक्षकहरुको माग सम्बोधनका लागि संविधान संशोधन गर्न आवश्यक नरहेने बताउनुभयो । लेखकले लामो समयदेखि संसद अवरोध हुँदा महत्वपूर्ण विधेयकहरु अघि बढ्न नसकेको र सानो सानो कुरामा संसद अवरुद्ध हुनु संसदीय अभ्यासको खराव कुरा रहेको धारणा राख्नुभयो । 

 

विधेयकमा असन्तुष्टि जनाउँदै नेपाल शिक्षक महासङ्घले यही असोज ३ गतेदेखि ५ गतेसम्म काठमाडौँ केन्द्रित सडकमा आन्दोलन गरेपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसँग छ बुँदे सहमति भएको थियो ।

तर आफुहरुको माग सम्बोधन नभएको भन्दै राहत शिक्षकहरु भने अहिले पनि आन्दोलनमै छन् । विधेयकमाथि शिक्षकहरुको आपत्ती रहेपछि कांग्रेसले सरोकारवालासंग छलफल गरेको हो ।

प्रकाशित मिति: बुधबार, असोज १०, २०८०  १८:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update