Public Pana

नेकपा एमालेका सांसद गोकुल बास्कोटाले सर्वसाधारणले आयातित गुणस्तरहिन चिनी खरिद गर्न बाध्य भएको बताउनुभएको छ । 
 

आज बुधबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समिति बैठकमा उहाले बजारमा सानो आकारमा प्याकिङ् भएको चिनी गुणस्तरहिन रहेको र बढी मूल्य समेत लिने गरेको बताउनुभएको हो । 
 

उहाले आफुले एक ठाँउमा प्रयोग गरेको चिनी पानीमा घुल्न समय लागेको र गुणस्तरहिन देखिएको बताउनुभयो । समितिमा आफुले प्रयोग गरेको चिनीको प्याकेट पानीमा घोलेर देखाउदै उहाले गुणस्तरहिन चिनी बजारमा छ्याप्छ्याप्ती हुदा पनि यसको आयात रोक्ने प्रयास नभएको बताउनुभयो ।

बास्कोटाले उखु किसानको समस्या समाधान गरेर स्वदेशी चिनी उत्पादनमा प्रोत्साहन गर्नुपर्ने धारणा राख्नुभयो ।
 

बाँस्कोटाले चिनी उत्पादन र आयातकर्ता तथा सरकारबाट सहयोग प्राप्त गर्ने एउटै व्यक्ति भएकाले हरेक वर्ष चाडबाडका समयमा अभाव सिर्जना भएको जिकिर गर्नुभयो । त्यस्तै उहाले स्वास्थ्य उपकरण ल्याउने तर प्रयोग नगर्दा बिग्रने समस्याबारे सरोकारवालासंग छलफल गर्नुपर्ने बताउनुभयो । 
 

त्यस्तै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले दैनिक उपभोग्यवस्तुमा भइरहेको कालोबजारी र महँगीले उपभोक्ता मारमा परेको भन्दै सरकारले ध्यान दिनुपर्ने बताउनुभयो । उहाले विधुत प्राधिकरणको डेडिकेटेड लाइनको राजस्व असुली नभएको अवस्थामा त्यसलाई पनि नाफामा देखाउने काम भएकाले छिटै टुङ्गो लगाउनुपर्ने बताउनुभयो । 
 

समिति सदस्य लेखनाथ दाहालले समितिको प्रभावकारिता बढाउन छलफल र निर्णय गर्ने एजेण्डा प्राथमिकीकरण गर्न, विगतका उजुरी र निर्णय कार्यान्वयनको अवस्था बुझन तथा निर्णयलाई अलपत्र पार्ने निर्णय नगर्न सुझाव दिनुभएको थियो । 
 

त्यस्तै समिति सदस्य अर्जुननरसिंह केसीले दशैँको मुखमा कालोबजार मौलाएका अत्यावश्यक खाद्य सामग्रीलगायतमा मूल्यवृद्धि भइ आम जनता त्यसको मारमा परेको भन्दै त्यसतर्फ आवश्यक कदम चाल्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

समिति सभापति ऋषिकेश पोखरेलले समितिले छलफलका लागि केहि बिषयबस्तु तयार गरेको भन्दै प्राथमिकता अनुसार छलफल अघि बढाउने जिकिर गर्नुभयो ।
 

प्रकाशित मिति: बुधबार, असोज १०, २०८०  १८:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update