Public Pana
अन्योलमा अरनिकोको जडिबुटी बसपार्क

पूर्व अरनिको यातायात प्रा.लि.ले झन्डै १० करोड रुपैयाँ खर्चेर जडीबुटीमा निर्माण गरिरहेको सुविधासम्पन्न बसपार्क सञ्चालनमा नआउँदै अन्योलमा परेको छ ।

काठमाडौं महानगरपालिकाले सञ्चालन गर्न नदिने भनेर अड्डी कसेपछि निर्माणको अन्तिम चरणमा पुगेको बसपार्क सञ्चालन हुने÷नहुने अन्योल उत्पन्न भएको हो ।

महानगरपालिकाले यात्रु चढाउन तथा ओराल्न गोंगबुस्थित बसपार्कमै पुग्नुपर्ने नियम बनाएपछि पूर्व अरनिको यातायातले निजी जग्गा भाडामा लिएर आफ्नै लगानीमा बसपार्क बनाएको हो ।
करीब १४ रोपनी जग्गा ५ वर्षका लागि लिजमा लिएर बसपार्क निर्माण गरिएको छ ।
निर्माणका लागि काठमाडौं महानगरपालिका वडा नम्बर ३२ देखि जिप्रका काठमाडौं र महानगरपालिका सबै निकायसँग अनुमति लिइएको दाबी प्रालिको छ ।

वडा कार्यालयदेखि जिप्रका, महानगरपालिका सबै निकाय, वडा नम्बर ३२ मा दर्ता प्रक्रिया अगाडि बढाएर नै काम गरेको पूर्व अरनिको यातायात प्रालिका उपाध्यक्ष सुरेन्द्र बस्नेतले जानकारी दिए ।

काभ्रे, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, सिन्धुली तथा बीपी राजमार्ग हुँदै पूर्वीपहाड एवं तराईका जिल्लाबाट आउने यात्रुहरूलाई गोंगबु पु¥याएर झार्दा सास्ती हुने भएकाले आफ्नै लगानीमा बसपार्क निर्माण गरिएको दाबी अरनिको यातायातको छ ।

काठमाडौं महानगरपालिकाले एउटै महानगरभित्र २ बसपार्क चाहिँदैन भन्ने तर्क गरिरहेकोले सञ्चालन हुन नसकेको उनले बताए ।

बसपार्क भत्काउने भन्ने कुरा समेत सुनेको भन्दै उनले त्यसो गर्न खोजे आफूहरू महानगरविरुद्ध आन्दोलनमा उत्रिने बताए । 
महानगरपालिकाले अनुमति दिए दशैंअगाडि नै बसपार्क सञ्चालनमा ल्याउने तयारी रहेको उनको भनाइ छ ।

पूर्व अरनिको यातायात प्रालिले बसपार्कमा निःशुल्क शौचालय, व्यवस्थित रेस्टुरेन्ट, यात्रु प्रतिक्षालय, टिकट काउन्टरदेखि आफ्ना व्यवसायी तथा यातायात कर्मचारीका बच्चाहरूका लागि निःशुल्क स्कूल बस समेत सञ्चालन गरेको छ ।

प्रकाशित मिति: बुधबार, असोज १०, २०८०  १६:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update