नेपालकै दुर्गम स्थानको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अब वर्षमा ५० जना एमबीबीएस चिकित्सक उत्पादन हुने भएका छन् ।
चिकित्सा शिक्षा आयोगले हालै निर्धारण गरेको सिटमा प्रतिष्ठानले ५० जना नयाँ विद्यार्थी भर्ना गर्न पाउने भएको हो । यसअघि उसको कोटामा ३० सिट मात्रै थियो ।
२० सिटबाट चिकित्सा शिक्षाको स्नातक पढाउन थालेको प्रतिष्ठान अब चौथो ब्याचको भर्ना लिँदै छ । सुरुको वर्ष २० र त्यसपछिका दुई वर्षमा ३०–३० जना भर्ना लिएर एमबीबीएस पढाइरहेको छ ।
प्रतिष्ठानमा अहिले ९० जना शिक्षक–प्राध्यापक छन् । दैनिक ६०० बिरामी उपचारका लागि पुग्छन् ।
प्रतिष्ठानका उपकुलपति डा. मंगल रावलले भने, ‘सञ्चालनमा आएको छोटो समयमै एमबीबीएसमा ५० जनाको सिट पाउनुलाई महत्त्वपूर्ण उपलब्धि मानेका छौँ । गुणस्तरलाई विशेष ध्यान दिएर अब केही वर्ष ५० सिट मात्रै पढाउने योजना छ ।’