Public Pana
प्रधानमन्त्रीले चीनसँग गरेका सहमतिमा गठबन्धनको साथ रहेको कार्यवाहक प्रधानमन्त्री खड्काको दाबी

कार्यवाहक प्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को चीन भ्रमण सफल भएको दाबी गरेका छन् ।
 

आज सुर्खेतको वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा कांग्रेस उपसभापतिसमेत रहेका खड्काले प्रधानमन्त्री प्रचण्डको चीन भ्रमण सफल भएको बताएका हुन् । 
बेल्ट एन्ड रोड (बीआरआई) मा सत्ता गठबन्धन दलको सहमतिमै प्रधानमन्त्रीले चीनसँग सहमति जनाएको जानकारी उनले दिए ।

 

‘चीनसँग भएका सहमति र सम्झौताहरु देशको हितमा छन्,’ खड्काले भने,  ‘चीनसँग भएका सबै सहमतिमा गठबन्धनमा रहेका दलहरुको सहमति छ। हामी सबैको सहमतिमै प्रधानमन्त्रीले चीनसँग ती सहमति र सम्झौता गर्नुभएको हो ।’ 
 

अर्को प्रशंगमा खड्काले संघीयता कार्यान्वयन गर्ने प्रक्रियाबाट सरकार पछि नहट्ने पनि बताए। ‘सरकार संघीयता कार्यान्वयन गर्नेमा दृढ छ,’ खड्काले भने ।
 

संघीय शिक्षा ऐन संसद्मा टेबुल भइसकेको बताउँदै उनले निजामति कर्मचारी ऐन र संघीय प्रहरी ऐन संसद्कम दर्ता गर्ने तयारीमा सरकार रहेको जानकारी दिए ।
 

‘संघीय लोकतान्त्रिक गणतन्त्रको कार्यान्वयन गर्न सरकार दृढ छ,’ खड्काले भने, ‘संघीय शिक्षा ऐन संसदमा टेबुल भइसकेको छ, सम्बन्धित मन्त्रालयले निजामति र प्रहरी ऐन तयारी गरेर संसद्मा दर्ता गर्ने तयारी गरिरहेका छन् ।’ 
 

संघीय सरकारले कानुन नबनाउँदा नागरिकले प्रत्यक्ष रुपमा संघीयताको अनुभूति गर्न नपाएको उनको भनाई थियो । 

प्रकाशित मिति: बुधबार, असोज १०, २०८०  १३:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update