Public Pana
ल्हासा पुगे प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चीनको स्वशासित क्षेत्र तिब्बतको ल्हासा आइपुगेका छन्।
 

गत शनिबारदेखि चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्ड चीनको छिङछोङ सहरबाट स्थानीय समयअनुसार आज ल्हासा पुगेका हुन्।
 

उनलाई ल्हासास्थित गोन्गार विमानस्थलमा तिब्बत सरकारका कार्यकारी उपाध्यक्ष एवं चिनियाँ कम्युनिष्ट पार्टीको तिब्बत उपसचिव चेन योङ्छीले स्वागत गरिन्।
 

प्रधानमन्त्री दाहाल ल्हासास्थित नेपाल महावाणिज्यदूतको कार्यालयमा आज दिउँसो आयोजना हुने अन्तक्रिया कार्यक्रममा सहभागी हुनेछन्। प्रधानमन्त्री दाहालले आजै तिब्बतको पोताला दरबार र जोखाङ मन्दिरको  भ्रमण गर्ने कार्यक्रम छ। 
 

आज चिनियाँ कम्युनिष्ट पार्टीको सिचाङ स्वशासित क्षेत्रका सचिव वाङ जुनचेङसँग पनि प्रधानमन्त्रीले भेटवार्ता गर्ने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ।
प्रधानमन्त्रीको टोली आज ल्हासामै बस्ने कार्यक्रम छ।

प्रचण्डसँग भ्रमण दलका सदस्यहरू परराष्ट्रमन्त्री नारायणप्रकाश साउद, खानेपानीमन्त्री महिन्द्र राय यादव, भौतिक पूर्वाधार एवं यातायातमन्त्री प्रकाश ज्वालासहित भ्रमण दलका सदस्य छन्।
 

यसअघि प्रधानमन्त्री प्रचण्ड हिजो बेइजिङबाट छिङछोङ सहर गएका थिए।

छिङछोङमा रहँदा उनले चिनियाँ कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्यसँग भेटवार्ता गर्नुको साथै कृषिका क्षेत्रमा छिङछोङ महानगरले गरेको कामकारे जानकारी लिएका थिए । 
 

प्रकाशित मिति: बुधबार, असोज १०, २०८०  ११:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update