Public Pana
क्रिकेटमा मंगोलियाविरुद्ध नेपालको कीर्तिमानी जित

कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीको विश्व कीर्तिमानी प्रदर्शनमा नेपाली राष्ट्रिय क्रिकेट टोलीले चीनको हाङजाओमा जारी १९औं एसियाली खेलकुदमा सानदार सुरुआत गरेको छ । 

समूह चरणको पहिलो खेलमा नेपालले मंगोलियाविरुद्ध २ सय ७३ रनको कीर्तिमानी जित हासिल गरेको हो । 
नेपालले दिएको ३ सय १५ रनको कीर्तिमानी लक्ष्य पछ्याएको मंगोलिया १३.१ ओभरमा ४१ रन बनाउँदा अलआउट भयो । 

मंगोलियालाई कम स्कोरमा रोक्न नेपालका करण केसी, अविनास बोहोरा र सन्दीप लामिछानेले समान २ विकेट लिए । सोमपाल कामी, कुशल भुर्तेल र दीपेन्द्र सिंह ऐरीले समान १ विकेट आफ्नो नाममा गरे । 
मंगोलियामा जमयानसुरेन दावासुरेनले बनाएको १० रन रन नै सर्वाधिक रह्यो। अन्य ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्।

एक ब्याटरले ३ रन थपे। अन्य तीन ब्याटरले १ रन जोडे। बाँकी पाँच ब्याटर शून्य रनमा पवेलियन फर्के। एक खेलाडी भने २ रनमा नटआउट रहे । 

त्यसअघि झेझियाङ युनिभर्सिटी अफ टेक्नोलोजी पिङफेङ क्रिकेट फिल्डमा मंगोलियाले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा ३ सय १४ रनको कीर्तिमानी योगफल तयार पारेको थियो । 

नेपालले टी आईमा इतिहासकै उच्च योगफल तयार पारेको हो। यसअघि अफगानिस्तान र चेक रिपब्लिकनले समान २ सय ७८ रनको योगफल तयार बनाएका थिए । 

चौथो विकेटका लागि युवा ब्याटर कुशल मल्ल र कप्तान रोहित पौडेलले १ सय ९३ रनको कीर्तिमानी साझेदारी गरेपछि नेपालले विशाल लक्ष्य दिएको हो । कुनै पनि खेलमा तेस्रो विकेटका लागि नेपाली ब्याटरले गरेको यो अहिलेसम्मकै उच्च साझेदारी हो । 

मंगोलियाविरुद्ध कुशल र दीपेन्द्रले विश्व कीर्तिमानी प्रदर्शन गरे। ३४ बलमा शतक पूरा गरेका मल्लले विश्व कीर्तिमान आफ्नो नाममा गरे। यसअघि टी–२० आईमा सर्वाधिक छिटो शतक ३५ बलको थियो । 

५० बलको सामना गरेका कुशलले ८ चौका र १२ छक्का हान्दै १ सय ३७ रनमा नटआउट रहे ।

आक्रामक अलराउन्डर दीपेन्द्रसिंह ऐरीले ९ बलमा अर्धशतक पूरा गर्दै दुर्लभ विश्व कीर्तिमान आफ्नो नाममा गरे।

यसअघि भारतीय ब्याटर युवराज सिंहले को बलमा अर्धशतक पूरा गरेका थिए। दीपेन्द्र ५२ रनमा नटआउट रहे ।
रोहितले २७ बलमा २ चौका र ६ छक्का प्रहार गर्दै ६१ रनको योगदान दिए । ओपनर कुशल भुर्तेल १९ तथा आशिफ शेख १६ रनमा आउट भए । 

एसियाडमा समूह बीमा रहेको नेपालले आफ्नो दोस्रो खेलमा आइतबार मालदिभ्ससँग खेल्नेछ ।
 

प्रकाशित मिति: बुधबार, असोज १०, २०८०  ११:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update